गोकुल घोरसाइने
निजगढ,अलाइनमेन्ट विवादका कारण लामो समयदेखि निजगढ क्षेत्रमा अवरुद्ध बनेको मेची महाकाली विद्युतीय रेल मार्गको शंभाव्यता अध्यययन कार्य सुरु हुने भएको छ ।नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रेल विभागको आयोजनामा सोमवार निजगढमा भएको सरोकारवालाहरुसंगको छलफलमा मानव वस्तिमा कम क्षति हुने गरी अलाइनमेन्ट तयार पार्ने सहमति भएपछि सर्भे कार्य सुचारु हुने भएको हो ।आयोजनाको निजगढ– हेटौडा– भरतपुर खण्डको निजगढमा देखिएको रेखाङ्कन सम्बन्धि विवाद अन्त्य गर्न र सर्भे कार्यलाई सुचारु पार्न विभागले सरोकारवालाहरुको छलफल कार्यक्रम गरेको हो ।छलफलमा रेलवे विभागको तर्फबाट प्रस्तुत गरिएको निजगढ नगरपालिका क्षेत्र हुँदै जाने प्रस्तावित सम्भाव्य रेल्वे अलाइनमेन्टहरु मध्ये अलाइनमेन्ट नम्बर २ बाट सर्भे कार्य अघि बढाउने र सो अलाइनमेन्टमा स्थलगत रुपमा सर्भे गर्दा मानव बस्ती, खेतीयोग्य जमिन, ऐतिहासिक एवं धार्मिक स्थलहरुमा हुनसक्ने क्षति न्यूनीकरण गर्ने गरी रेखाङ्कन गर्ने तथा वडा नम्बर १०, १२ र १३ मा रेखाङ्कन गर्दा देखिएका समस्याहरु हल गर्दै सर्भे कार्य गर्ने र २ नम्बर अलाईनमेन्टको सर्भे कार्यलाई अर्को बैठक बसी टुङ्गयाउने निर्णय भएको छ । सो सहमति अनुसार अब निजगढ नगरपालिकाको पश्चिमतर्फ पर्ने बकैया खोलको पूर्वीतटबाट अलाइनमेन्ट गरिने भएको छ ।यसअघि विभागले तयार पारेको प्रारम्भिक अलाइनमेन्टमा निजगढको मुख्य बजार क्षेत्रबाट रेलवे लाइन निर्माण गरिने भनिएपछि स्थानीयले विरोध गर्दै सर्भे कार्यमा अवरोध पुर्याएका थिए । विरोधका कारण विभागले अहिले बकैया खोलाको पूर्वकिनाराबाट रेलवे लाइनको प्रस्ताव गरेको हो । बकैया नदी किनारमा रेलवे लिक निर्माण गर्ने बारेमा भने स्थानीयले सहमति जनाएका छन ।कार्यक्रममा निजगढ नगरपालिकका प्रमुख सुरथ पुरीले स्थानीयबासिन्दाको भौतिक सम्पतिमा न्युनतम क्षेति हुने गरी रेलवे लाइन निर्माण गरिनुपर्ने बताउनुभएको थियो । उहाँले जुनसुकै विकास निर्माणको काम गर्दा पनि प्राकृतिक श्रोतमा थोर÷बहुत क्षति हुने भएपनि क्षति न्यूनीकरणमा ध्यान दिनुपर्ने बताउनुभयो ।त्यसैगरी कार्यक्रममा रेलवे विभागका बरिष्ठ डिभिजनल इन्जिनियर प्रकासचन्द्र भण्डारीले प्रस्तावित रेखाङ्कनको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले निजगढ पूर्वतर्फ महोत्तरीको बर्दिबासदेखि रौतहटको कनकपुरसम्म रेल्वे लाईन निर्माण भइसकेको र निजगढमा देखिएको विवादका कारण सर्भे कार्य समेत हुन नसकेकोले तत्काल अवरोध अन्त्य गरेर काम सुरु गर्न प्रयास भइरहेको बताउनुभयो । उहाँले स्थानीयबासिन्दा र पालिकासंग सहमति भएको र अबको ३÷४ महिनाभित्र निजगढ क्षेत्रमा पनि सर्भेको काम पुराहुने बताउनुभयो ।नगरपालिकाका प्रमुख पुरीको अध्यक्षतामा नगरपालिकाको सभाहलमा भएको सो कार्यक्रममा नेपाल सरकार रेलवे विभागका पदाधिकारी, निजगढ नगरपालिकाका उपप्रमुख सोममाया थिङ्ग, प्रमुख प्रशासकीय अधिकृत सुमन धिताल, पूर्वमेयर सुरेश खनाल, वडा नम्बर १२ का वडा अध्यक्ष ज्ञानबहादुर गोले, वडा नम्बर १३ का वडा अध्यक्ष सुर्य घलान, साविका निजगढ गाविसका अध्यक्ष एकबहादुर श्रेष्ठ लगायतले क्षति न्यूनीकरण गरेर रेलवे लाइन निर्माण गर्न सुझाव दिनुभएको थियो ।

















