बारा,ठूलो परिमाणको बहुमूल्य धातु युरेनियम जस्तो देखिने र गुणहरु भएको बस्तुसहित बारामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकास्थित एक होटलबाट प्रहरीले शनिबार युरेनियमसहित तिन जनालाई पक्राउ गरेको हो ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ को जीतपुरस्थित आदित्य होटलबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको इन्टेलिजेन्स व्यूरोको संयूक्त टोलीले २ किलो ६ सय ग्राम युरेनियमसहित सोही पालिकाको वडा नम्बर ३ निवासी सागर चौधरी, रवि चौधरी र रौतहटको माधवनारायण नगरपालिकाका बृजकुमार सहनीलाई पक्राउ गरेको हो ।यद्यपि बरामद गरिएको धातु युरेनियम नै भएको भन्ने बारेमा अहिले नै यकिन नभइसकेको प्रहरीको भनाइ छ । प्रयोगशाला परीक्षण पश्चात यसको पुष्टि हुने सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गण हेडक्वाटर बाराका सूचना अधिकारी एवम् सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) अमरबहादुर खत्रीले जानकारी दिनुभयो ।युरेनियमको अवैध कारोबारीहरु होटलमा लुकिछिपी बसिरहेको सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको इन्टेलिजेन्स व्यूरोको संयूक्त टोलीले उनीहरु बसेको होटलको कोठा नम्बर ४ मा छापामारी गरेको थियो ।पक्राउ परेका तीनै जनालाई बरामद धातुसहित ईलाका प्रहरी कार्यालय सिमराको जिम्मा लगाइएको डिएसपी खत्रीले बताउनुभयो ।ऊर्जा उत्पादन, चिकित्सा शास्त्र, औद्योगिक र भौगर्भिक अध्ययनमा युरेनियमको उपयोग हुन्छ । युरेनियमलाई अत्यन्त बहुमूल्य धातु मानिन्छ । युरेनियम आणविक भट्टीहरुका लागि अत्यावश्यक कच्चा पदार्थ हो । युरेनियमको अभावमा आणविक बम तथा परमाणु परीक्षण शम्भव हुँदैन ।

Leave a Reply