मनहर्वा,बारा
२७ बैशाष २०७८
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १८ को आधारभुत स्वास्थ्य चौकी भवनको आईतबार अपरान्न शिलाल्यास गरिएको छ ।
वडाको उचिडी स्थीत सार्वजनिक जमिनमा निर्माण गर्न लागिएको चारकोठे पक्की भवनको उपमेयर सरस्वती चौधरीले शिलान्यास गर्नु भएको हो । उपमहानगरपालिकाको पहलमा केन्द्र सरकारको ३७ लाखको बजेटमा निर्माण हुने भवन आगामी असार १५ गते भित्र निर्माण सम्पन्न हुनेछ । भवनसँगै सडक र थप पूर्वाधार निर्माणमा उपमहानगरले सहयोग गर्ने उपमेयर चौधरीले बताउनु भयो ।
वहाँका अनुसार जीतपुरसिमरा उपमहानगरपालिकाका १५ वटा वडामा एकसाथ आधारभुत स्वास्थ्य चौकी भवन निर्माण हुने छन् । जसअनुसार वडा नं.१,३,४,५,६,८,९,११, १३,१४, १६,१८,२०,२२ र २३ का विभिन्न स्थानहरुमा विभिन्न ठेकेदार कम्पनीहरुले भवन निर्माणको जिम्मामा धमाधम काम भैरहेको उपमेयर चौधरीले जानकारी दिनु भयो ।
भवन शिलान्यास कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका १८का अध्यक्ष अर्जुन प्रसाद दाहाल, सदस्य कमला कुमारी न्यौपाने, कुमार लामा, चिन्ता माझी लगायत स्थानियको उल्लेखिय सहभागिता रहेको थियो ।

 

Leave a Reply