कृष्ण मोहन साह

सेढवा,विवाह समारोहमा झगडा हुँदा पर्साको जगरनाथपुर गाउँपालिकामा दुलाहा र उनका काकाको कुटपिटबाट एक जना युवकको मृत्यु भएको छ ।जगरनाथपुर गाउँपालिका– ३ ठेकरिया बड्गु टोल बस्ने ३६ वर्षीय सैमुल्लाह राउत गद्दीको मृत्यु भएको हो । बुधबार बिहान ४ बजे बिहान सैमुल्लाह घरमा गम्भीर घाइते अवस्थामा रहेको जानकारी प्रहरीकोमा आएको थियो ।प्रहरी चौकी पाण्डेपुर र इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक किशोर आचार्य नेतृत्वको टोली पुगेर उनलाई अस्पताल लगेको थियो । उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा ल्याउँदा चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका थिए ।सहरूम राउत गद्दीको छोरा २२ वर्षीय साबिर राउत गद्दीको विवाहमा नाच्ने विषयमा भएको विवादपछि झडप हुँदा सैमुल्लाह घाइते भएका थिए । मंगलबार राति ११ बजेतिर साबिरको विवाहमा नाचगान गर्ने विषयमा विवाद भएको थियो । सैमुल्लाहले नाच्न नदिएको भन्दै विवाद हुँदा दुलाहा साबिर, काका जादुल राउत गद्दी लगायतले कुटपिट गरेको स्थानीयले बताएका छन् । सैमुल्लाहको शव नारायणी अस्पतालमा पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।घटनापछि दुलाहा सबिर र काका जादुल फरार बनेका छन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो । विवाहमा नाच्ने विषयमा विवाद हुँदा कुटपीट भएको देख्नेहरु रहेको र मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्ने उहाँले बताउनुभयो ।

Leave a Reply