काठमाण्डौं,चुनावमार्फत संसदीय दलको नेता टुंगो लगाउने तयारीसँगै नेपाली काँग्रेसभित्रको दुई समूह आमने–सामने हुने भएका छन । दलको नेताका लागि संस्थापनबाट सभापति शेरबहादुर देउवा र स्थापनइतर समुहबाट महामन्त्री गगन थापाले प्रतिष्पर्धा गर्ने भएका हुन् ।संस्थापनबाट सभापति देउवा सर्वसम्मत उम्मेदवार भए पनि इतर गुटमा भने दुई जना आकांक्षी थिए । १४ महाधिवेसनमा सभापतिमा हार्नुभएका शेखर कोइराला र उहाँकै प्यानलबाट महामन्त्री जित्नुभएका थापा दलको नेतामा दावेदार रहँदा सो समूहलाई साझा उम्मेद्वारी दिन सकस परेको थियो । तर, सोमवारदेखि भएका चरण–चरणका छलफलपछि मंगलवार महामन्त्री थापाको नाम टुंगो लागेको हो ।अहिले इतर समूहको अनामनगरस्थित एक होटलमा चलेको बैठकपछि कोइरालाले थापाको नाम दलको नेताको उम्मेदवारमा प्रस्ताव गर्नुभएको थियो । उहाँले पार्टी रुपान्तरणसँगै पुस्तान्तरणका लागि थापालाई दलको नेतामा प्रस्ताव गरेको बताउनुभएको छ ।बलियो अवस्थामा रहेका देउवाविरुद्ध भिड्न साझा उम्मेदवार तय गर्नुपर्ने दबाबमा रहेको शेखर–गगन गुट आन्तरिक छलफलमा थियो । सोमवार दिनभर भएका विभिन्न चरणका छलफलमा सहमति जुट्न नसकेपछि मंगलवार बिहानैदेखि दुई आकांक्षी कोइराला र थापा संवादमा थिए । बिहान लाजिम्पाट र सिंहदरबारमा बसेको दुईवटा बैठकले अन्ततः सर्वसम्मत रूपमा थापाको नाममा सहमति जुटाएको हो ।तर, देउवाविरुद्ध इतर गुट एकजुट हुँदा पनि संसदीय दलमा संस्थापन पक्ष नै हावी देखिन्छ । ८९ जना सांसद रहेको कांग्रेसमा दलको नेता बन्न ४५ मत चाहिन्छ । जसमध्ये ५५ जना सांसद संस्थापन निकट छन् भने इतर खेमामा ३४ जना छन् । तर, मंगलवारको भेलामा ३८ जना सांसद सहभागी भएको इतर पक्षको दावी छ । संस्थापनकै युवा सांसदहरुले पनि गगनलाई मत हाल्ने सो पक्षका नेताहरुको विश्वास छ ।कांग्रेसको विधानमा दलको नेता नै प्रधानमन्त्री बन्ने व्यवस्था छ । संसद्को सबैभन्दा ठूलो दलका हैसियतमा कांग्रेसले नै सरकारको नेतृत्व गर्ने सम्भावना रहेकाले पनि दलको नेताका लागि चर्को प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।

कांग्रेसले दलको निर्वाचनका लागि ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । समितिले मंगलबार उम्मेदवारी मनोनयन दर्ता गर्ने र बुधवार बिहान ८ बजेदेखि १० बजेसम्मको मतदानको कार्यतालिका बनाएको छ ।

Leave a Reply