मनोज शाह
जीतपुर,जीपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थित गौतमबुद्ध आधारभूत विद्यालयको भवन रातारात भत्काएर सामग्री गायब पारिएको छ ।करिव १५ वर्षअघि निर्माण भएको सो विद्यालयको २ वटा ट्रस्ट भवन भत्काइएको हो ।
स्थानीयका अनुसार विद्यालय भवन निर्माण भएको जमिन आफ्नो भएको दाबी गर्दै बकुलिया गाउँका केही व्यक्तिहरूले रातारात भत्काएर ईटा, जस्तापाता लगायतका सामग्रीहरु गायब पारेका हुन । ‘रातारात भवन भत्काइएको रहेछ, एक स्थानीयले भने, विद्यालय जस्तो सार्वजनिक सम्पत्ति यसरी भत्काएर बेपत्ता पारिनु दुःखको कुरा हो ।’
विद्यार्थी अभाव भएपछि सो विद्यालय ४÷५ वर्षअघिदेखि बन्द अवस्थामा थियो ।
विद्यालय भवन भत्काइएको घटना सार्वजनिक भएपछि स्थानीय आश्चर्य चकित र आक्रोशित बनेका छन । ‘गाउँमा त्यही एउटा विद्यालय भवन थियो, स्थानीय जुमिर मियाले भन्नुभयो, अहिले बन्द अवस्थामा रहेपनि पछिल्लो पुस्ताका हाम्रा बालबच्चाले पढ्न पाउँथे, तर रातारात भत्काएर गायब पारिएपछि अभिावकहरुमा चिन्ता बढेको छ ।’
‘विद्यालयको ईटा, जस्तापाता कसले कहाँ लग्यो भनेर सोधखोज गर्न पनि डर लाग्छ, अर्का एक स्थानीयले भने, बोल्यो भने गाउँकै मानिसले कुटपिट गर्लान भन्ने डर छ ।’
घटनाबारे जीतपुरसिमरा उपमहानगरपालिका– ५ का वडा अध्यक्ष दिपेन्द्र चौधरीले भवन भएको जग्गाको दाबी गर्दैआएका स्थानीय लखनलाल चौधरीको समूहले विद्यालय भवन भत्काएर लगेको खुलासा भएको बताउनुभयो । ‘लखनलालले पहिले सहमतिमा सो जमिन विद्यालय भवन निर्माणको लागि दान गरेका थिए, वडा अध्यष चौधरीले भन्नुभयो, तर अहिले विद्यालय बन्द भएकोभन्दै भवन भत्काएको बुझिएको छ ।’ लखनलालले दाबी गरेअनुसार उक्त जमिन उनको नाममा नभएको र यदि रहेछ भनेपनि यसरी रातारात भवन भत्काउन नमिल्ने वडा अध्यक्ष चौधरीको भनाई छ । ‘अपराधजन्य कार्य गरिएकाले आवश्यक कारबाहीको लागि स्थानीय प्रहरी र जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयमा वडा कार्यालयको तर्फबाट पत्राचार गरिएको पनि उहाँले बताउनुभयो ।
उता, विद्यालयको भवनको संरचना भत्काइएकामा अभिभावकहरूले विरोध गर्दै कारबाहीको माग गरेका छन् । उनीहरुले बालबालिकाको शिक्षामा ठूलो संकट आउने बताउदै कसरी, किन र कसको निर्देशनमा भवन भत्काइयो सो सम्बन्धमा छानबिन गरी दोषिमाथि कारबाहीको माग गरेका हुन ।
चारैतिर खोला घेरिएको सो बस्तिमा वर्षा याममा खोलामा बाढी आउँदा बालबालिकालाई गाउँ बाहिरको विद्यालयमा गएर अध्ययन गर्न समस्या बेहोर्दैआएका छन ।



















