निजगढ,निजगढ नगरपालिका सिगौलबाट सशस्त्र वन रक्षक टोलीले अटोसहित सालको चिरान काठ बरामद गरेको छ । ना.३ स ९४७० नम्बरको अटोमा ३३ थान काठको कडी ल्याउँदै गरेको सूचनाको आधारमा वन गस्ति टोलीले अटोसहित काठ नियन्त्रणमा लिएको छ ।

निजगढ सब डिभिजन वन कार्यालय भमराका सशस्त्र वन रक्षक जमदार मङ्गलप्रसाद साहको कमान्डमा गएको टोलीले पुर्वपश्चिम राजमार्गस्थित सामुदायिक वन क्षेत्रमा लुकाएर ल्याएको अवस्थामा काठ सहित अटो बरामद गरेको हो । अटो चालक र तस्कर भने भाग्न सफल भएको र उनीहरूको पहिचान गरी खोजी कार्य भइहेको डिभिजन वन कार्यालय बाराका डिएफओ मन्जुर अहमदले बताउनुभयो ।

यसैबीच पर्साको छतिवन टाँडी रेन्जपोस्ट नजीकैको वनबाट सालको रूख काटेर गोलिया बनाइ साइकलमा लगिरहेको अवस्थामा वन सुरक्षा गस्ती टोलीले आइतबार राति दुर्ई थान सालको गोलिया र साइकल बरामद गरेको छ । सब डिभिजन वन कार्यालय बडनिहार र छतिवन टाँडी रेन्जपोस्टको संयुक्त वन सुरक्षा गस्ती टोलीले दुर्ई थान सालको गोलिया (१५ क्युफिट) बरामद गरेको हो ।

बरामद गरेको गोलिया र साइकल सब डिभिजन वन कार्यालय बडनिहारमा राखिएको जमदार अर्जुन चौधरीले बताउनुभयो । यसैगरी सब डिभिजन वन कार्यालय रङ्गपुरको टोलीले सोमबार बिहान दुर्ई थान सालको गोलिया र दुर्ई थान साइकल बरामद गरेको छ । रङ्गपुर नजिकैको वनबाट साइकलमा गोलिया ल्याइरहेको सूचनाको आधारमा जमदार प्रदीप तिमल्सिना कमान्डको टोलीले गोलिया र काठ बरामद गरेको हो । काठ तस्कर भने फरार छन् । बरामद सामान रङ्गपुरमा राखिएको जमदार तिमल्सिनाले बताउनुभयो ।

Leave a Reply