बिहीवार निर्वाचन आयोगले आम चुनावको सबै मत परिणाम राष्ट्रपतिलाई संबिधानमा ब्यवस्था भए अनुसार बुझाएको छ । नेपालको राज संस्थाको औपचारिक बिदाइ भएको पनि करिब करिब दुई दशक हुंदै गर्दा नेपालमा राजा उत्पादन हुने क्रम भने बढेको भन्दै नागरिकहरु स्तरबाट बिरोध भइरहेको छ तर पनि राजनीतिक दलहरुले आफ्नो स्वार्थ अनुसार शासन सत्ता संचालन गरेका कारण पनि मुलुकमा छोटो राजनहरुको बाहुल्यता बढेको हो ।
२०७० सालमा संबिधान सभाको दोश्रो पटक चुनाव हुँदा संबिधानमा कल्पना नै नभएको कुरा तत्कालिन प्रधानन्याधिश खिलाराज रेग्मीलाई मन्त्री परिषदको अध्यक्ष बनाएर चुनाव गराइयो यद्यपि उनी बाहालवाला प्रधानन्यायधिश नै थिए । यसले के संदेश दिन्छ भने नेपालमा राजनीतिक दलहरु सत्ता संचालनका सवालमा कमजोर छन् तर पनि उनीहरुको हालीमुहाली चल्दै आइरहेको छ ।
अब पछिल्लो पटक अबको करिब दुई महिनापछि रिक्त रहने राष्ट्रपति पदमा पनि गैरराजनीतिक व्यक्ति ल्याउने चलखेल शुरु भएको खबरहरु सार्वजनिक भइरहेका छन् । यदि यसो हो भने नेपालमा जसले जे मन लाग्छ त्यही गर्ने छुट छ भन्ने देखिन्छ । राजनीतिक व्यक्ति नै यो पदमा पुग्ने संबिधानमा कल्पना छ कि त प्रत्यक्ष निर्वाचित राष्ट्रपति निर्वाचन प्रणाली हुनुपर्छ नत्र पर्दा पछाडिको यो घिनलाग्दो खेलले देशलाई भड्खालोमा हाल्ने निश्चित छ ।
















