सिकिन्द्र साह
सिम्रौनगढ,नेकपा एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले आगामी मंसिर ४ गते हुने निर्वाचनमा बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा अच्युत मैनाली र प्रदेश सभा ख बाट जसपाका सरोज यादव विजयी बनेमा आफू सबै भन्दा बढी खुसी हुने बताउनुभएको छ ।
सिम्रौनगढमा बुधवार नेकपा एमाले र जनता समाजवादी पार्टीले आयोजना गरेको जनसभा बोल्दै नेता पौडेलले सो कुरा बताउनुभएको हो । उहाँले मैनालीसंगै बारा क्षेत्र नम्बर १ ख बाट प्रदेश सभा सदस्यमा जसपाका सरोज यादवले पनि जित्नुपर्ने बताउनुभयो ।
‘मैनाली र यादवले जित्नुभयो भने सबैभन्दा बढी खुसी म हुनेछु, नेता पौडेलले भन्नुभयो, दुबै साथीले चुनाव जित्दा मलाई खुसी लाग्नु स्वभाविक नै हो ।’ उहाँले एमालेसंगको तालमेलमा जसपाबाट प्रदेश ख बाट उम्मेदवार बन्नुभएका यादवलाई मधेस प्रदेशको मुख्यमन्त्री र मैनालीलाई संघीय सरकारको मन्त्री हुन पनि शुभकामना दिनुभयो । उहाँहरु मन्त्री र मुख्यमन्त्री बन्नुभयो भने सिम्रौनगढ र बारा जिल्लाबासी सबै नै खुसी हुनु पर्ने पनि बताउनुभयो ।
सभामा प्रमुख अतिथिको रुपमा बोल्दै नेता पौडेले निर्वाचनमा कांग्रेश उम्मेदवारलाई पराजित गर्नुपर्ने पनि बताउनुभयो । ‘क्षेत्रबाट १५÷२० वर्षसम्म लगातार जित्दा पनि कांग्रेशले केही गर्न सकेन, उहाँले भन्नुभयो, त्यस्तो पार्टी र त्यसका उम्मेदवारलाई फेरि जिताउनुको कुनै अर्थ छैन ।’
कार्यक्रममा बोल्दै नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार अच्युत मैनालीले आफूले जितेको खण्डमा क्षेत्रको विकासको लागि इमान्दारिताका साथ काम गर्ने बताउदै जनताको शिर झुक्ने कुनै काम नगर्ने बताउनुभयो । ‘मैले जितेको खण्डमा जनताको शिर उचो बनाउने काम गर्छु, उहाँले भन्नुभयो ।
त्यसैगरी जसपाका उम्मेदवार सरोजकुमार यादवले सिम्रौनगढ क्षेत्रको विकासको लागि जसपा र एमाले तालमेलका उम्मेदवारको जित आवश्यक रहेको बताउनुभयो । उहाँले नेपाली कांग्रेश पार्टी विकास विरोध पार्टी भएकोले जतनाले निर्वाचनमा पराजित गर्नुपर्ने बताउनुभयो ।
सभामा जसपा पोलिटब्युरो सदस्य रामबाबु प्रसाद यादवले नेपाली कांग्रेसको सरकारले देशमा परिवर्तनको कुनै खास नगरेको र विकासको नाममा जनतालाई झुटो आवश्वासन मात्र दिएको भन्दै यसअघि यस क्षेत्रबाट निर्वाचित हुुनभएका उमाकान्त चौधरीले वहालवाला मन्त्री भएर पनि विकासको नाममा सिन्को पनि नभाँचेको आरोप लगाउनुभयो ।
नेपाली कांग्रेसका कर्याकर्ताले जनतालाई खानेपानी सुविधा दिने नाममा करोडौं रुपैया भ्रष्टचार गरेको समेत यादवले आरोप लगाउनुभयो ।
जसपा नेता रामाकान्त रायको सभापतित्वमा भएको सो कार्यक्रममा नेकपा एमाले सिम्रौनगढ नगर कमिटी अध्यक्ष महेन्द्र जयसवाल, नेताहरु अबदुल रजाक अन्सारी, आदर्शकोतवाल गाउँपालिकाका पूर्व अध्यक्ष मुस्तुफा अन्सारी, नेकपा एमाले बारा क्षेत्र नम्बर १ क्षेत्रीय संयोजक भरत भण्डारी, जसपा सिम्रौनगढ नगर अध्यक्ष पनालाल कुशवाहा लगायतले बोल्नुभएको थियो । कार्यक्रमको संचालन प्रमानन्द मुखियाले गर्नुभएको थियो ।