बिदुर खडका
डुमरवाना,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ मा मौलाकाली डेरी उद्योगको उद्धाटन भएको छ ।
नगर उद्योग बाणिज्य संघ जीतपुरसिमराका अध्यक्ष मोहन शर्माले डेरीको उद्धाटन गर्नुभएको हो ।
बारा, पर्सा, रौतहट र सर्लाहीका किसानहरुबाट दैनिक ३ हजार ५ सय लिटर दुध संकलन गर्ने लक्ष्यका साथ डेरी स्थापना गरिएको प्रबन्धक नबिन पौडेलले बताउनुभएको छ ।
किसानहरुले हाल बजारमा बिक्री गर्दै आएको मुल्यमा भन्दा प्रतिलिटर ५ रुपैया बढी दिएर दुध खरिद गर्ने प्रबन्धक पौडेलको भनाइ छ ।
उद्योग उद्धाटन कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि र स्थानीय जनप्रतिनिधिहरुले डेरीको सफलताको लागि शुभकामना दिएका थिए । उद्योगहरुबीच प्रतिस्पर्धा हुनसकेमा बजारमा एकाधिकार समाप्त हुने र उपभोक्ताहरु पनि लाभान्वित हुने कार्यक्रमका सहभागी वक्ताहरुको भनाइ छ । व्यावसायिक पशुपालनको विकास गर्ने र बेरोजगारी समस्या न्यूनीकरण गर्ने हेतुले ३ करोडको लागतमा डेरी उद्योग स्थापना गरिएको संञ्चालक अध्यक्ष रामप्रसाद लामिछानेले बताउनुभयो । आगमी दिनमा डेरीले आफ्नै पशु फर्म संचालनदेखि दुध प्याकेजिग, घिउ र आईसक्रिमसमेत उत्पादन गर्ने अध्यक्ष लामिछानेको भनाइ छ । हाल मौलाकाली डेरी उद्योगमा शेयर लगानिकर्तासमेत रहेका ९ जना कर्मचारी कार्यरत छन ।



















