निजगढ,निजगढ नगरपालिका वडा नम्बर ९ स्थित शान्ति टोलका उपभोक्ताहरु घरमा जडान गरेको विद्युत लाईनमा कम भोल्टेज आउने समस्याबाट मुक्त भएका छन । निजगढ नगरपालिका वडा नम्बर ९ वडा कार्यालयको पहलमा १ सय केभिको नयाँ ट्रान्सफर्मर जडान गरिएपछि स्थानीय विद्युत उपभोक्ताहरुले घरमा जडान गरेको विद्युतलाइनमा कम भोल्टेज आउने समस्याबाट मुक्ति पाएका हुन ।
विद्युत लाईनमा कम भोल्टेज आउने गरेपछि स्थानीयले वर्षौदेखि समस्या बेहोर्दै आएका थिए । भोल्टेज कमको समस्याले घरको बत्ति, पङ्गखा र एसी र फ्रिज जस्ता विद्युतीय सामान राम्ररी नचलेको र नयाँ ट्रान्सर्फमर जडान गरिएपछि उपभोक्ताहरु समस्या मुक्त भएको वडा अध्यक्ष रामचन्द्र कटुवालले जानकारी दिनुभयो ।
त्यसैगरी सोही वडाको अस्पताल टोलमा पनि सोमवार १ सय केभिको नयाँ ट्रान्सफर्मर जडान गरिएको छ । सो क्षेत्रका उपभोक्ता पनि घरको लाइनमा कम भोल्टेज आउने समस्याबाट आजित हुदै आएका थिए । अस्पताल टोलमा ट्रान्सफर्मर जडान गर्ने कार्य सोमवार पुरा भए पनि सो ट्रान्सफर्मरबाट मंगलवारबाट मात्रै विद्युत सुचारु हुने वडा अध्यक्ष कटुवालले जानकारी दिनुभयो ।
उपभोक्ताहरुको सुविधाको लागि विद्युत प्राधिकरणको सिमरा वितरण शाखामार्फत शान्ति र अस्पताल टोलमा नयाँ ट्रान्सफर्मर जडान गरिएको अध्यक्ष कटुवालले जानकारी दिनुभयो ।