पुष्पराज खतिवडा
मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ दशधुरे टोलकी १२ बर्षिय बालिका बलात्कृत भएकी छन् । बालिकामाथि शुक्रबार साँझ सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले ५० वर्षका एकजना सहित ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुको नाम प्रहरीले गोप्य राखेको छ । पक्राउ परेकाहरु मध्ये २ जना १६ वर्षका नाबालकसमेत भएको स्थानीयले बताए । उनीहरुलाई प्रहरीले शुक्रवार ५ बजेको समयमा नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका मध्ये एकजनाले बालिकालाई ललाइफकाई आफ्नै घरमा बोलाएर पालैपाले करणी गरेको र सोही क्रममा स्थानीयले देखेपछि उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको थियो । ४ः३० बजेको समयमा रंगेहात समातियका उनीहरुलाई स्थानीयले कुटपिट समेत गरेका छन ।
पक्राउ परेका मध्ये एकजना स्थानीय दुर्गा मन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्ष समेत भएको खुल्न आएको छ ।
ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक राजकिशोर साहले चारैजनालाई प्रहरीले नियन्त्रणमा लिएको र हिरासतमा राखेर अनुसन्धान भइरहेको बताउनुभयो । बालिकाको स्थानीय स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गरिएको र अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।
यता बलात्कार आरोपमा पक्राउ परेका एकजना एमाले कार्यकर्ता भएको प्रचार गरिएको भएपनि एमालेका वडा नं. १ का वडाध्यक्षका उम्मेदवार हिरा बस्नेतले आरोपी आफ्नो पार्टीको समर्थक भएपनि उनी पार्टीको कुनैपनि जिम्मेवारीमा नरहेको बताउनुभयो । उहाँले जो भएपनि बलत्कार जस्तो जघन्य अपराधमा संलग्न भएको पुष्टि भए कानुन बमोजिम कडा कारबाही गर्नु पर्ने भन्दै अपराधीको कुनै जात, धर्म र पार्टी नहुने बताउनुभयो ।