पुष्पराज खतिवडा

मनहर्वा,कलैया उपमहानगरपालिका वडा नम्बर २४ श्रीपुरघाटका विरेन्द्र गोसाईले २ बिघा १५ कठ्ठा जमिन वार्षिक १ लाख रुपैंया तिर्ने गरी भाडामा लिएर उखु खेती गर्नुभएको छ । उखुबाली बिक्री गर्ने बेला खेतमै सुकेर नष्ट भएपछि गोसाई यतिबेला अर्का जमिनको भाडाको रकम कसरी तिर्ने भन्ने चिन्तामा पर्नुभएको छ ।

‘अब कसरी हुण्डाको रकम तिर्नु, सुकेको उखुको लाक्रा देखाउँदै गोंसाईले भन्नुभयो, उखु सबै मरेर खेतमा नै सुकिसक्यो ।’

गोसाईको जस्तै यस क्षेत्रका हजारौं किसान यतिबेला समस्यामा परेका छन । उनीहरुले स्थानीय रिलायन्स सुगर मिलसबाट ०२३८ जातको बिउ खरिद गरेर लगाएका थिए । सबै किसानले लगाएको उखु रोग लागेर समय नपुगी खेतमा नै सुक्न थालेपछि उनीहरु क्षतिपुर्तिको माग गर्दै आन्दोलनमा उत्रिएका छन ।

राम्रो उत्पादन दिन्छ भनेर मिलका कर्मचारीले आश्वासन दिएपछि किसानले प्रतिक्विण्टल ६ सय ८० रुपैंयामा खरिद गरेर उखु लगाएका थिए । ‘बिउ नै कमसल परेछ, गोसाईले भन्नुभयो, उखुबाली सुकेर नष्ट भएपछि किसानको बिल्लिबाठ हुने अवस्था आएको छ ।’ गत भदौ अन्तिम सातबाट अलिअलि गरी मर्न थालेको उखुबाली मंसिरसम्म आइपुग्दा खेत नै खाली हुने गरी सुकेको उहाँले जानकारी दिनुभयो ।

‘मिलले ०२३८ जातको बिउ जवरजस्ती भिडायो, अर्का किसान रमेश घिमिरेले भन्नुभयो, राम्रै होला भन्ठानेर रोपियो तर अहिले रोग लागेर बर्वाद बनायो ।’ अन्य विभिन्न जातका विउ विस्थापन गर्दै स्थानीय किसानले उक्त जातको बिउ लगाएका हुन । ‘आफ्नो मात्रै ४ बिघाको उखु उठाउनै नपर्ने गरी सुकेर नष्ट भएको छ, घिमिरेले भन्नुभयो, यसको क्षतिपूर्ती चिनी मिलले दिनुपर्छ ।’

चिनी मिल संचालन गर्ने समय सुरु हुनै लाग्दा किसानको हजारौं बिघा उखुबाली खेतमै सुकेपछि किसान चिन्तामा परेका छन् । किसानहरुले आइतबार सुगर मिल प्रवेश गर्ने कलैया उपमहानगरपालिका वडा नम्बर २४ श्रीपुरघाटस्थित पिलुवा–कलैया सडकखण्डमा ३ घण्टा अवरोध गर्दै क्षेतिपूर्तीको माग गरेका छन् । उनीहरुले सुकेको उखुको मिलले क्षेतिपुर्ती दिनुपर्ने माग गरेका छन । ‘कमसल जातको बिउ दिएर किसानलाई ढुवाउने काम भयो, अर्का अगुवा किसान हेमन्त ओझाले भन्नुभयो, चिनी मिलले क्षेतिपूर्ती दिनुपर्छ ।’

अर्का अगुवा किसान रामानन्दप्रसाद यावदले पहिलेपहिले लगाउने गरेको स्थानीय प्रजातिका बीउहरु पनि राम्रौ रहेको तर मिलले त्यसलाई बर्जित गरेर हाईब्रिड भनेर नयाँ जातको बिउ लगाउन बाध्य बनाएको बताउनुभयो । तथ्याङ्क संकलन हुदै गरेकाले अहिले नै यति नै क्षति भयो भनेर बताउन नसकिने पनि उहाँले जानकारी दिनुभयो । यद्यपि सयौं किसानको एक हजार बिघाभन्दा बढी उखुबाली सुकेर नष्ट भएको अनुमान गरिएको छ । विरुवा राम्रै आए पनि बाली भित्र्याउने बेलामा भने आफै सुकेर गएको यादवको भनाइ छ ।

मिल संचालक पक्षले भने किसानको उखु सुक्नुमा आफूहरु जिम्मेवार नभएको भन्दै पन्छिन खोजेपछि किसानहरु सडक आन्दोलनमा उत्रन बाध्य बनेका हुन् । किसानलाई क्षतिपुर्ति दिने बारेमा उचित सुनुवाइ नभए चरणवद्ध आन्दोलनमा गर्ने अगुवा किसान यादवले बताउनुभयो ।

Leave a Reply