निजगढ,सिम्रौनगढको सेवा अपायक भएको भन्दै आन्दोलनरत जिल्लाको महागढीमाई नगरपालिका, सुवर्ण र देवताल गाउँपालिका बासिन्दाहरुले जिल्ला मालपोत कार्यालय कलैयाबाट नै सेवा पाउने भएका छन ।

जिल्ला प्रशासन कार्यालय बारामा बिहीवार भएको सर्वदलीय बैठकले निर्णय गरेपछि उनीहरुले कलैयाबाट यथाबत सेवा पाउने भएका हुन ।

यसअघि कलैया मालपोत कार्यालयबाट सेवा लिदै आएका जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर ९ को पिप्राबिर्ता, सुवर्ण गाउँपालिका अन्तरगतको कबहीगोठ, बगही, हर्दियार प्रशुरामपुर र देवताल गाउँपालिकाको मझरिया, पिप्राढी र बडकीफुलबरियाका बासिन्दाहरुलाई हालै संचालनमा आएको सिम्रौनगढ कार्यालयको सेवा क्षेत्रभित्र राखिएपछि स्थानीय आन्दोलित हुदै आएका थिए ।

बैठकमा आफूहरुको माग अनुसार कलैयाबाट पूर्ववत सेवा व्यवस्था मिलाउन निर्णय भएको पिप्राबिर्ताका शिक्षक पन्नालाल दासले बताउनुभयो । माग पुरा भएसंगै ३ दिनदेखि हुदै आएको कलैया केन्द्रीत आन्दोलन पनि स्थगित गरिएको उहाँले जनकारी दिनुभयो ।

मालपोत कार्यालय सिम्रौनगढको सेवा क्षेत्रमा परेका केही स्थानका बासिन्दाले सेवा अपायक परेको भन्दै गुनासो गरेपछि सर्वदलीय बैठकले पूर्ववत रुपमा कलैयाबाट नै सेवा उपलब्ध गराउन व्यवस्था मिलाउने निर्णय गरेको बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो । उहाँले स्थानीयलाई तत्काल कलैयाबाट नै सेवा दिने व्यवस्था मिलाइने र नीतिगत रुपमा निर्णय गर्न भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा पत्राचार गर्ने निर्णय बैठकबाट भएको पनि बताउनुभयो ।

Leave a Reply