सिमरा,बारा क्षेत्र नं. ४ को प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्ले चुनावी परिणाम आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा जुटनुभएको छ । स्वतन्त्र उम्मेदवारी दर्ता गराएपछि प्राप्त जनसमर्थनबाट हौसिएका वाग्ले अहिले निर्वाचन जित्नेमा ढुक्क देखिनुभएको छ ।
सुरुवातदेखि नै निर्वाचन परिचालनलाई प्रभावकारी बनाउदै लैजानुभएका उहाँले मतदानको पाँच दिन बाँकी रहदा मतदातासंगको भेटघाटलाई बाक्लो बनाउनुभएको छ । यस क्षेत्रमा रहेको ३८ वटै वडामा पुगेर मतदातासंग आफ्नो योजना र अनुभव सुनाईरहेका वाग्ले पछिल्लो समय बलियो प्रतिस्पर्धीको रुपमा देखिनुभएको छ ।
सानो निर्वाचन परिचालन कमिटीबाट आफ्नो प्रचार अभियान सुरु गर्नुभएका वाग्लेको पक्षमा मत माग्न अहिले प्रचार कमिटी नै सयौंको संख्यामा सक्रिय छन् । चुनावी प्रचारका लागि वाग्लेले बनाएको परिचालन कमिटीले क्षेत्रभरि सयौंको संख्यामा सम्पर्क कार्यालय समेत स्थापना गरेको छ । सम्पर्क कार्यालयमार्फत वाग्लेको समर्थनमा चुनावी प्रचार हुँदै आएको छ ।
क्षेत्रभरि आफ्नो पक्षमा जनसमर्थन बढ्न थालेपछि वाग्ले उत्साहित देखिनुभएको छ । उहाँ आफू निर्वाचित हुनेमा विश्वस्त देखिनुभएको छ । ‘मेरो अभियानमा उत्साहजनक समर्थन पाएको छु । क्षेत्रका मतदाताहरु जिताउन तयार हुनुहुन्छ’ वाग्लेले भन्नुभयो ‘यो मेरो मात्रै जित हुने छैन, यस क्षेत्रका सम्पूर्ण नागरिकको जित हुनेछ ।’
सिमरास्थित होटल इच्छाका संचालक वाग्ले लामो समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । कांग्रेसको नेतृत्व तहसम्म उहाँ परिचित हुनुहुन्छ । निर्वाचन नजिकिदै गर्दा वाग्लेले पार्टीको टिकटबाट यस क्षेत्रबाट चुनाव लड्ने तयारी गर्नुभएको थियो । तयारी अनुसार यस क्षेत्रबाट पहिलो नम्बरमा नाम सिफारिस पनि भएको थियो ।
तर गठबन्धनको भागबण्डामा यस क्षेत्र नेकपा एकिकृत समाजवादीको भागमा पर्यो । एकिकृत समाजवादी यस क्षेत्रको सबैभन्दा कमजोर जनमत रहेको पार्टी हो । गठबन्धनको ठुलो शक्तिको रुपमा रहेको कांग्रेसलाई पन्छाएर एकिकृत समाजवादीले टिकट प्राप्त गरेपछि वाग्लेले स्वतन्त्र अभियान सुरु गर्नुभएको हो ।
सत्तारुढ गठबन्धनको भागबण्डामा कांग्रेसले प्रतिनिधिसभा मात्रै होईन यस क्षेत्रका दुई वटा प्रदेश सभामा पनि टिकट समेत हात पार्न सकेन् । प्रदेश सभाका लागि कांग्रेसका श्यामबाबु गुप्ता, ओमकृष्ण कार्की, लोकेश सिंह जस्ता युवा नेता टिकट प्राप्त गर्नेमा ढुक्क र उत्साहित थिए । गठबन्धनकै ठुलो शक्ति भएका कारण पनि कांग्रेसले टिकट पाउनेमा उम्मेदवारका आकांक्षीसहित कांग्रेसका नेताकार्यकर्ता विश्वस्त देखिन्थे ।
तर अन्तिम समयमा कांग्रेसले कुनै पनि क्षेत्रमा टिकट प्राप्त गर्न सकेन् । प्रतिनिसिभा एकिकृत समाजवादीले पाउदै गर्दा प्रदेशसभा ४(१) नेकपा माओवादी केन्द्र र ४ (२) लोकतान्त्रिक समाजवादी पार्टीले पायो । जनमतका हिसाबले बलियो शक्ति कांग्रेसको भागमा भने गठबन्धनका उम्मेदवारलाई जिताउने जिम्मेवारी पर्यो ।
कांग्रेसको अस्तित्व नै समाप्त पार्ने गरी गठबन्धनमा सहमति भएपछि यस क्षेत्रको कांग्रेसका नेता कार्यकर्ता रुष्ट भएकाछन । जसका कारण नै कांग्रेसका अगुवा नेता वाग्ले प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बन्नुभयो । वाग्लेलाई उम्मेदवार बन्न कांग्रेसका नेता कार्यकर्ता र समर्थकले नै आग्रह गरेका थिए । कांग्रेसका समर्थकको आग्रहपछि उम्मेदवारका रुपमा अघि बढनुभएका वाग्ले अहिले बलियो प्रतिस्पर्धीको रुपमा उदाउनुभएको छ ।
कांग्रेसका केही प्रभावशाली नेताहरु वाग्लेको पक्षमा खुलेर प्रचारमा नहिडे पनि मौन समर्थन जनाइरहेका छन् भने अन्य अधिकांश नेता कार्यकर्ता खुलेरै प्रचारमा व्यस्त छन् । आफ्नो पार्टीको उम्मेदवार र मतपत्रमा चुनाव चिन्हनै नहुने भएपछि स्वतन्त्र उम्मेदवार जिताएर क्षेत्रको विकासका लागि आफ्नो मतको सदुपयोग गर्ने कांग्रेसका नेताकार्यकर्ता बताउछन् ।
‘प्रत्यक्षतर्फ कांग्रेसको उम्मेदवार पनि छैनन् र मतपत्रमा कांग्रेसको चुनाव चिन्ह पनि हुँदैन’ नेपाली कांग्रेस जीतपुरसिमरा नगर कमिटीका पूर्वसचिव सुशिल ढोडारीले भन्नुभयो ‘त्यसैले हामी स्वतन्त्र अभियानमा जोडिएका छौ । यस क्षेत्रको विकासका लागि स्वतन्त्र उम्मेदवारलाई बिजयी गराएर मतको सदुपयोग गर्नेछौं ।’
ढोडारीले भने जस्तै यस क्षेत्रका अधिकांश कांग्रेसका नेताकार्यकर्ता वाग्लेको पक्षमा खुलेको देखिन्छ । कांग्रेस नेताकार्यकर्ता मात्र नभई वाग्लेको पक्षमा स्वतन्त्र नागरिकले समेत सक्रिया सहभागिता जनाएका छन् । बाहिरबाट आएका उम्मेदवारलाई भन्दा यसै क्षेत्रमा आफ्नो सर्वस्व लगानी गरेर र संयौको संख्यामा स्थानीयलाई रोजगारी दिएका उम्मेदवारलाई आफूहरुले समर्थन गरेको पथलैयाका विश्वास थापाले बताउनुभयो ।
कराडौंको लगानी लगाएर सिमरालाई देशभर चिनाउन, होटलमार्फत यस क्षेत्रको पर्यटन प्रवद्र्धन लागि भूमिका खेल्न सफल व्यक्तिलाई जिताउन सके शिक्षा, स्वास्थ्य, कृषी, सडकलगायत विभिन्न क्षेत्रको विकासले गति लिनेमा आफूहरु आशावादी रहेको थापाले बताउनुभयो ।
‘सिमरामा पाँच तारे होटलको कल्पना कसले गरेको थियो ? सुरुमा होटल खुल्दै गर्दा लगानी डुब्छ भन्ने हामीलाई पनि लागेको थियो’ थापाले भन्नुभयो, ‘तर अहिले त्यही होटलको कारण सिमरा देशभर परिचित छ । देशका विभिन्न भागका आन्तरिक पर्यटकको केन्द्र सिमरा बनेको छ ।’ आफ्नो व्यवसायसंगै यस क्षेत्रको विकासलाई योगदान गरेका व्यक्तिलाई जिताउन सके यस क्षेत्रमा परिवर्तन ल्याउन असम्भव नरहेको थापाको भनाइ छ ।
जीतपुरका सुरेश साह होटल इच्छाकै कारण जीतपुरसिमरामा अहिले कराडौंको लगानीमा थुप्रै होटल खुलेको र व्यवस्थित शहरको रुपमा जीतपुरसिमरा चिनिन थालेको बताउनुहुन्छ । सिमरामा होटल इच्छाले सफलता पाएसंगै लगानीकर्ता होटल तथा पर्यटन व्यवसायमा आकर्षित हुन थालेको र पर्यटनको क्षेत्रमा सिमराले फड्को मारेको साहले बताउनुभयो । ‘जीतपुरसिमरामा अहिले हजारौंको सख्यामा पर्यटक आएपनि राख्न सकिने क्षमताका होटल खुलिसकेका छन्’ साहले भन्नुभयो, ‘सिमरालाई यो स्थितिमा ल्याउन नेतृत्व गर्ने व्यक्ति त वाग्ले नै हुनुहुन्छ । एउटा क्षेत्रबाट सिमरामा परिवर्तन ल्याउन सक्ने व्यक्ति निर्वाचित भए यस क्षेत्रमा कति धेरै परिवर्तन हुन्छ होला । हामी त्यो परिवर्तनको सपना देखेर स्वतन्त्र अभियानमा जोडिएका छौ । ’
वाग्लेको पक्षमा उत्तरी क्षेत्रका मात्र नभइ दक्षिणी क्षेत्रका नागरिक समेत सक्रिय भएर लागेका छन् । होटल तथा पर्यटन व्यवसायमार्फत विकास र परिवर्तन सम्भव छ भन्ने देखाएका कारण पनि वाग्लेप्रति आकर्षण बढेको देखिन्छ । फेटाका २५ वर्षीय युवा अशोक पटेल उत्तरी क्षेत्र जस्तै दक्षिणतर्फको मुहार फेर्नका लागि पनि स्वतन्त्र उम्मेदवार जिताउने अभियानमा स्थानीय युवाहरु लागेको बताउनुहुन्छ ।
स्वतन्त्र उम्मेदवार वाग्लेले पनि आफ्नो जितपछि बारा ४ को मुहार फेर्न आफु सक्षम रहेको बताउदै आउनुभएको छ । जिल्लाको अन्य क्षेत्रमध्ये सबैभन्दा बढी सम्भावना बोकेको बारा क्षेत्र नं. ४ लाई आगामी पाँच वर्षमा नमुना क्षेत्रको विकास गर्ने वाग्ले बताउनुहुन्छ ।
‘सांसद भनेको नीति निर्माण तहमा प्रतिनिधित्व गर्ने व्यक्ति हो । यस क्षेत्रको सम्भावना के छ भन्ने मलाई अनुभव छ,’ वाग्लेले भन्नुभयो, ‘मैले त्यही अनुभवको आधारमा यस क्षेत्रलाई केन्द्रीत गरेर नीति तथा कार्यक्रम बनाउन भूमिका खेल्ने हो । अनि मात्रै यस क्षेत्रमा परिवर्तन भएको आभास जनताले गर्नेछन् । म त्यो अभियानमा छु ।’