वीरगञ्ज,
नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मिसन ८४ मा एमालेले बहुमतको सरकार बनाउने बताउनुभएको छ ।
नेकपा एमाले पर्साको नवौं जिल्ला अधिवेशनको सोमवार वीगञ्जमा उद्धाटन गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले सो कुरा बताउनुभएको हो । ‘आगामी आम निर्वाचनमा बहुमतको सरकार बनाउने लक्ष्यका साथ अगाडि बढेका छौं, उहाँले भन्नुभयो, बझाङ्ग र इलामको उपनिर्वाचनले पनि पार्टीको मिसन सफल हुने कुराको संकेत गरेको छ ।’ उहाँले सबै पार्टीलाई जनताले हेरिसकेको र नयाँ भनाउदा नक्कली पार्टीहरुलाई पनि हेरिसकेकोले एमालेको विकल्प नरहेको बताउनुभयो ।

एमाले नेता पोखरेलले अहिलेको संसदले देशमा राजनीतिक अस्थिरता बढाएको बताउदै अब आउने निर्वाचनमा एमाले पार्टीको बहुमत आउनुपर्ने धारणा राख्नुभयो । उहाँले आगामी निर्वाचनमा एमाले बाहेक कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने दावी पनि गर्नुभयो । नेकपा एमाले बाहेक अरु पार्टीले बहुमत ल्याएर देश विकास गर्न सम्भव पनि नरहेको बताउदै आर्थिक विकास र समृद्धिको कुरा एमालेले गर्ने बताउनुभयो ।

नेकपा एमाले पर्साका संयोजक डा. विश्वम्भर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सचिव तथा मधेस प्रदेश इञ्चार्ज योगेश भट्टराई, पोलिटब्युरो सदस्य तथा बारा क्षेत्र नम्बर १ का सांसद अच्युत मैनाली, केन्द्रीय सदस्यहरु लिलानाथ श्रेष्ठ, जुली साह, राजकुमार गुप्ता, प्रभु हजरा लगायत केन्द्र, जिल्ला र स्थानीय तहका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

पार्टीको नयाँ नेतृत्व चयन प्रकृया मंगलवारबाट शुरु हुने बताइएको छ । मंगलवार हुने बन्द सत्रपछि नेतृत्व चयनको प्रक्रिया शुरु हुने एमाले पर्साले जनाएको छ । बन्दसत्र कार्यक्रम भने वीरगञ्जको क्लासिक बंक्वेटमा आयोजना गरिनेछ ।
पर्सा एमालेको नयाँ नेतृत्वको लागि पर्सामा तीन जना आकांक्षी देखिएका छन् ।अध्यक्षका लागि अहिलेका संयोजक डाक्टर विश्वम्भर शर्मा, पूर्व अध्यक्ष जयप्रकाश थारु र शिव पटेलको नाम चर्चामा छ । पटेल र थारु केन्द्रीय सदस्य राजकुमार गुप्ता पक्षका हुन् भने वर्तमान संयोजक डाक्टर विश्वम्भर शर्मा संस्थापन पक्षका हुन् । त्यस्तै सचिवमा पनि केन्द्रीय प्रचार विभाग सदस्य तथा वीरगञ्ज महानगरपालिका उपाध्यक्ष महेश दास र जिल्ला सचिवालय सदस्य शिवजी गुप्ताको नाम चर्चामा छ ।

Leave a Reply