वीरगञ्ज, २० मंसिर ।
वीरगञ्ज महानगरपालिकाले नगरभित्र रहेका अव्यवस्थित तार व्यवस्थापन गर्न सेवा प्रदायकलाई निर्देशन दिएको छ । मंगलबार बसेको बैठकमा महानगरका प्रमुख राजेशमान सिंहले सेवाप्रदायक संस्थाका प्रतिनिधिलाई जथाभावी टांगिएका तार व्यवस्थित गर्न निर्देशन दिएकाहुन् । जथाभावी टांगिएका तारका कारण नगरको सौन्दर्यता विग्रिनुका साथै दुर्घटनाको सम्भावना समेत देखिएकाले व्यवस्थित गर्न महानगरले पटक पटकप्रयास गरिरहेको छ ।
तर सेवाप्रदायक संस्थाहरुले सहयोग नगर्दा महानगरको अभियान पूरा हुन सकिरहेको छैन । मंगलबार इन्टरनेट सेवाप्रदायक संस्था र केवल टिभीका प्रतिनिधिलाई बोलाएर जथाभावी टांगिएका तार व्यवस्थापन गर्न निर्देशन दिइएको हो । बैठकमा पहिलो चरणमा वीरगञ्जको आदर्शनगर क्षेत्रमा अव्यवस्थित रहेकातार व्यवस्थित गरेर अभियान अघि बढाउने सहमति भएको छ ।
अभियानलाई सार्थक बनाउने आउ“दो २३ गते शुक्रबारदेखि अव्यवस्थित रुपमा छरिएका तार हटाउन सुरु गर्ने बैठकले सर्वसम्मत निर्णय गरेको महानगरको आइटी शाखाका बृजेश प्रधानले जानकारी दिए ।
महानगर प्रमुख सिंहको उपस्थितिमा भएको बैठकमा स्याटेलाइट केवलका सुन्दर कुर्मी, भायोनेटका अब्दुलकलाम आजाद, वल्र्डलिंकका दिपेश वान्तवा, सिम टिभीका जगमोहन कुमार कुशवाहा, राधेमाई केवलका सम्सुल हवारी, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।















