सिमरा,हुलास स्टील उद्योगको व्यवस्थापन पक्षले मजदुर नेतामाथि अनावश्यक कारबाही गरेको भन्दै अखिल नेपाल औद्योगिक मजदुर संघ बारा जिल्ला समितिले विरोध जनाएको छ ।संघले बिहीवार सिमरामा प्रदर्शनसहित इलाका प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । उक्त ज्ञापनपत्रमा व्यवस्थापनले गैरकानुनी ढंगले संघका पदाधिकारीहरुलाई निलम्बन तथा स्पष्टीकरण सोधेकोमा आपत्ति जनाएको छ ।

श्रमिक नेतामाथि गरेको कारबाही तत्काल खारेज गर्न माग गर्दै औद्योगिक क्षेत्रमा श्रमिक अधिकारमाथि हुने दमनका विरुद्ध संघर्ष गर्न तयार रहेको चेतावनी संघले दिएको छ ।उद्योग व्यवस्थापनले अखिल नेपाल औद्योगिक मजदुर संघ हुलास स्टील इकाई समितिका अध्यक्ष प्रदीप गिरीलाई गैरकानुनी रूपमा निलम्बन गरेको, कोषाध्यक्ष मिनबहादुर चौधरीलाई स्पष्टीकरणसहित निलम्बन गरेको र वरिष्ठ उपाध्यक्ष युवराज खनाललाई सात दिने अल्टिमेटमसहित स्पष्टीकरण सोधेको संघले जनाएको छ ।

विरोध कार्यक्रममा पीडित मजदुर नेतासहित अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज अर्जुन चिमरिया, केन्द्रीय सदस्य अच्छेकुमार ओझा, अखिल नेपाल औद्योगिक मजदुर संघका केन्द्रीय अध्यक्ष बेनीप्रसाद तिमील्सिना, अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश सचिव तथा बारा अध्यक्ष कृष्णप्रसाद पुडासैनी, बारा अध्यक्ष डीबी थापा र पर्सा अध्यक्ष मदन साहको उपस्थिति रहेको थियो ।

Leave a Reply