वीरगंज १५ कार्तिक ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि नेपाल भारतको जिल्ला स्तरीय सीमा समन्वय समितिको बैठक मंगलबार भन्सार जांचचौकी (आईसीपी) मा सम्पन्न भएको छ ।
निर्वाचनको सुरक्षाका लागि निर्वाचन अघि ७२ घण्टा अगाडि सीमा सील गर्ने, आवश्यक सूचना आदान प्रदान गर्ने, सीमाक्षेत्रमा हुने अन्तरदेशीय अपराध नियन्त्रणमा दुवैतर्फका सुरक्षा अधिकारीहरुबीच समन्वय गर्ने निर्णय भएको छ ।
पूर्वी नवलपरासीदेखि रौतहटसम्मका प्रमुख जिल्ला अधिकारी, तीनवटै सुरक्षा निकायका प्रमुखहरु र भारतर्फपनि सोही सीमाक्षेत्रमा पर्ने जिल्लाका प्रमुखहरुको संयुक्त बैठक सम्पन्न भएको हो ।
बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, बाराका प्रमुख जिल्ला अधिकार कृष्ण बहादुर कटुवाल, पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेल, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक दीपक खड्का, बाराका प्रहरी उपरीक्षक होबेन्द्र बोगटी, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापा लगायत रौतहटदेखि नवलपरासी पूर्वसम्मका प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीहरुको सहभागिता रहेको थियो ।