जनकपुरधाम,मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेसमा जारी आन्दोलन अन्त्य गर्न संवाद र सहकार्य नै एकमात्र मार्ग भएको बताउनुभएको छ ।शनिवार प्रदेशवासीको नाममा सम्बोधन गर्दै उहाँले मधेसमा हाल उत्पन्न परिस्थितिको वार्तामार्फत अन्त्य गर्न सकिने जिकिर गर्नुभएको हो ।

सम्बोधनका क्रममा उहाँले मधेशमा जारी आन्दोलन अन्त्य गर्न संवाद र सहकार्य नै एकमात्र मार्ग भएको भन्दै आन्दोलनरत दललाई वार्ताको टेबलमा आउन अपील गर्नुभएको छ ।मुख्यमन्त्री यादवले सडक सङ्घर्षले समस्याको समाधान नहुने उल्लेख गर्दै भन्नुभयो, “सडकमा आन्दोलन गर्नुभन्दा आउनुस्, बसेर वार्ता गरौँ, समस्याको समाधान मिलेर खोजौँ ।”उहाँले आफ्नो कुनै पनि दलसँग प्रतिस्पर्धा नभएको स्पष्ट गर्दै मधेसका गरिब, प्रदेशको शान्तिसुरक्षा र समृद्धि नै आफ्नो प्राथमिकता रहेको बताउनुभयो ।

उहाँले कोशी प्रदेशमा समेत राजनीतिक असन्तुष्टि हुँदाहुँदै दलहरू सडक सङ्घर्षमा नउत्रिएको उदाहरण प्रस्तुत गर्दै मधेसमा पनि संयमता र राजनीतिक परिपक्वता देखाउन आग्रह गर्नुभयो ।सम्बोधनमा भारतीय दूतावासको हस्तक्षेप भएको आरोप पनि मुख्यमन्त्री यादवले लगाउनुभयो। उहाँले जेनजी आन्दोलनपछि सङ्घ र प्रदेशमा सरकार गठनको बेला मन्त्री चयनसमेत भारतीय दूतावासको चासो देखिएको दाबी गर्नुभएको थियो ।आफू र आफ्ना मन्त्रीहरू सुरक्षा चुनौतीमा रहेको उहाँले उल्लेख गर्नुभयो ।

साथै मुख्यमन्त्री यादवले नयाँ पहलको घोषणा गर्दै अबदेखि प्रत्येक बिहान ७ः१५ देखि ८ बजेसम्म ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम सञ्चालन गर्ने जानकारी गराउनुभयो । यसमार्फत आम नागरिकसँग प्रत्यक्ष संवाद गरी समस्या तथा सुझाव सुन्ने उद्देश्य रहेको बताइएको छ ।
सात दलीय गठबन्धनद्वारा बैठक बहिष्कार
जनकपुरधाम,मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले आह्वान गर्नुभएको सर्वदलीय बैठक सात दलीय गठबन्धनले बहिष्कार गरेको छ ।आज दिउँसो ३ बजे प्रदेश प्रमुख डा. लाभले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । तर सर्वदलीय बैठकमा वर्तमान मुख्यमन्त्री सरोजकुमार यादव नेकपा एमाले संसदीय दलको नेताको हैसियतले सहभागी हुने भएका कारण अन्य दलले बैठक बहिष्कार गरेका हुन् ।मुख्यमन्त्री यादव भने बैठकमा पुग्नुभएको थियो ।

जसपा नेपालका प्रमुख सचेतक राम अशिष यादवले असंवैधानिक रूपमा नियुक्त भई होटेलमा सपथ खाएका वर्तमान मुख्यमन्त्री सो बैठकमा सहभागी हुने भएकाले सात दलीय गठबन्धनले बहिष्कार गरेको बताउनुभयो ।‘बैठकमा वर्तमान मुख्यमन्त्री पनि सहभागी हुने जनाइएको छ् । उहाँ असंवैधानिक तरिकाले नियुक्त भएकाले हामीले सर्वोच्चमा रिट गरेका छौँ । सुनवाई हुन बाँकी छ,’ उहाँले भन्नुभयो, ‘त्यसकारण विवादित मुख्यमन्त्री उपस्थित बैठकमा सात दलीय गठबन्धनले बैठक बहिष्कार गरेको हो ।’

Leave a Reply