निजगढ,किशोरीलाई बलात्कार गरेको आरोप लागेका वडा अध्यक्ष राजन श्रेष्ठ लामो समयदेखि फरार बनेपछि निजगढ नगरपालिका वडा नम्बर २ को कार्यालयको सेवा प्रभावित बनेको छ ।
वडाध्यक्ष श्रेष्ठ फरार भएपछि सेवाग्रहीले पाउनु पर्ने सेवासहित वडा कार्यालयको दैनिक प्रशासनिक कार्य प्रभावित भएको हो । नगरपालिकाले सेवाग्रहीहरूको कामको विकल्पबारे कुनै उपाय दिन नसक्दा सेवाग्राही मार्कामा परेका छन । वडाध्यक्ष श्रेष्ठ घटनाकै दिनदेखि फरार रहेकाले दुई सातादेखि वडाको काम प्रभावित बनेको हो । उनी फरार बने पनि अरु कुनै वडा सदस्यले पनि कार्यवाहक पाएका छैनन् । कार्यबहाक वडा अध्यक्षको जिम्मेवारी दिने बारेमा २ जना वडा सदस्यहरुबीच हानाथाप परेको र विकल्प दिन नसकिएको वडा सचिव हिरालाल रानाले बताउनुभयो ।
कार्यवाहक कसलाई दिने र कसले लिने भन्ने विषयमा वडाका सदस्यहरूबीच भने चर्को विवाद उत्पन्न भएको छ ।
१५ वर्षीया छिमेकी किशोरीले आफू बलात्कृत भएको भन्दै प्रहरीमा जाहेरी दिएपछि प्रहरीले वडाध्यक्ष श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान गर्न बारा जिल्ला अदालतबाट अनुमति दिइसकेको छ । तर वडाध्यक्ष श्रेष्ठ घटना भएदेखि नै वडाको काम छाडेर फरार भएकाले पक्राउ पर्न नसकेका हुन् ।
गत असोज २५ मा पीडितले इलाका प्रहरी कार्यालय निजगढमा उजुरी दिएपछि प्रहरीले पीडितको स्वास्थ्य परीक्षण गराएर अनुसन्धान अघि बढाएको छ । दसैंको टीकाको राति ८ बजे वडाअध्यक्ष श्रेष्ठले बालिकालाई प्रलोभन देखाएर आफ्नै घरमा बोलाई बलात्कार गरेको पीडितबाट उजुरी आएको निजगढ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जीव ओलीले बताउनुभयो ।
वडाध्यक्षलाई पक्राउ गर्न सबै विधि र तरिका अपनाएको भए पनि पक्राउ गर्न नसकिएको उहाँले बताउनुभयो ।



















