वीरगन्ज,विशेष अदालतले भ्रष्टाचार मुद्दामा वीरगन्ज महानगरपालिकाका वडा नम्बर १६ का निवर्तमान वडाध्यक्ष श्यामबाबु चौरसियालाई ३ महिनाको कैद सजाय सुनाएको छ ।

न्यायाधीशत्रय रमेश कुमार पोखरेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले बिहीबार यस्तो फैसला गरेको हो। विशेष अदालतले निवर्तमान वडाध्यक्ष चौरसियालाई १० हजार रुपैयाँ जरिवाना र ३ महिना कैद सजाय सुनाएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी बनाएका दुई जनालाई भने जरिवाना मात्रै गरेकोे छ।

यसैगरी जग्गा बिक्री गर्ने स्थानीय जहराती मियाँ धुनियाँलाई ८० हजार रुपैयाँभन्दा बढी र जग्गा खरिदकर्ता ग्यान्ती देवीलाई ९० हजार रुपैयाँभन्दा बढी जरिवाना भराउने फैसला भएको हो।

२०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट वडाअध्यक्षमा जितेका चौरसियाले आफ्नो वडामा पर्ने धुनियाको जग्गा न्यून मूल्यांकन गरी सरकारलाई हानी नोक्सानी पुर्‍याएको आरोप अख्तियारको थियो। अख्तियारले जग्गा विक्रेता धुनिया र खरिदकर्ता ग्यान्ती देवीलाई पनि प्रतिवादी बनाएको थियो।

चौरसियाले प्रतिकठ्ठा ६० लाख रुपैयाँ मुल्य पर्ने जग्गालाई जग्गाको थैली रकम कम राखेको अख्तियारको अनुसन्धानले देखाएको थियो । ११ धुर जग्गाको खरिद विक्रिका क्रममा थैली रकम कम राख्दा सरकारलाई रजिष्ट्रेसन वापत झन्डै ९५ हजार र पुँजीगत लाभकर बापत साढे ८२ हजार रुपैयाँ नोक्सान भएको अख्तियारको ठहर थियोे ।

त्यसपछ अख्तियारले राजस्वमा हानी पुर्‍याउने, गैरकानूनी लाभ लिएको, गलत लिखत तयार गरेरसमेत भ्रष्टाचारजन्य कसूर गरेको भन्दै ९ जेठ २०७७ मा मुद्दा दायर गरेको थियो । त्यसलगत्तै चौरसिया वडाअध्यक्षबाट निलम्बनमा परेका थिए ।

Leave a Reply