काठमाडौँ, ३१ असोज ।
जापानी प्रधानमन्त्री फुमिओ किसिदाले दक्षिण कोरियाको विवादास्पद धार्मिक समूह ’युनिफिकेसन चर्च’ को सत्तारुढ दलसँगको सम्बन्ध र विवादबारे अनुसन्धान गर्न आदेश दिएका छन् । सुरुमा जाँचका लागि अनिच्छुक देखिएका प्रधानमन्त्री फुमिओले आफ्नो राजनीतिक भविष्यलाई बचाउनका लागि अनुसन्धानका लागि तयार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

जापानका शिक्षामन्त्री केइको नागाओकाले अनुसन्धान तत्कालै सुरु हुने बताएका छन् । जाँचबाट प्राप्त निष्कर्षअनुसार चर्चले जापानमा प्राप्त गर्दै आएको कर छुटको सुविधा गुमाउनेसम्मको सम्भावना रहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । ’फेमिली फेडेरेसन फर वर्ल्ड पिस एन्ड युनिफिकेसन’ नामक सो संस्था पूर्वजापानी प्रधानमन्त्री सिन्जो आबेको हत्यापछि थप चर्चामा छ ।
आबेको हत्या अभियुक्त तेत्सुया यामागामीले आबे युनिफिकेसन चर्चलाई समर्थन गर्ने राजनीतिज्ञ भएकाले नै आफूले हत्या गरेको बयान दिएका छन् । उनले आफ्नो परिवार टाट पल्टिनुमा चर्चको भूमिका रहेको दाबी गर्दै आएका छन् । समाचारहरूका अनुसार अभियुक्त यामागामीकी आमाले २ दशकअघि चर्चलाई ठूलो रकम चन्दा दिएको बताइएको छ ।
दोस्रो विश्वयुद्धपछि जापानको प्रधानमन्त्री बनेका आबेका हजुरबा नोबुसुके किशीले जापानमा युनिफिकेसन चर्च स्थापना गर्न सहयोग गरेका थिए । आबेको हत्यापछि सत्तारुढ लिभरल डेमोक्य्राटिक पार्टी (एलडीपी)का सयौं सांसदहरूको सम्बन्ध उक्त चर्चसँग देखिएको थियो ।
सो दलको २ सय ५९ सांसदहरूमध्ये आधा सांसदको चर्चसँग सम्बन्ध रहेको अन्तर्राष्ट्रिय समाचार संस्था गार्जियले उल्लेख गरेको छ । आबेको हत्यापछि सुरु भएको यो विवादले प्रधानमन्त्री किसिदालाई रक्षात्मक अवस्थामा पु¥याएको छ । सो विवापछि किसिदाको लोकप्रियता घटेको छ । मतदाताहरुले सो चर्चसँगको सम्बन्धलाई स्वीकार गरेको देखिँदैन ।
रेभ सुन म्युङ मूनले १९५४ मा दक्षिण कोरियामा युनिफिकेसन चर्च स्थापना गरेका थिए । रुढीवादी विचार राख्ने चर्चमाथि ’आध्यात्मिक’ सामग्री खरिदका लागि सदस्यहरूलाई ठूलो रकम तिराउने गरेको आरोप लाग्दै आएको छ । तरचर्चले कुनै गल्ती नगरेको भनेर आफ्नो बचाउ गर्दै आएको छ ।
युनिफिकेसन चर्चमा नेपालका राजनीतिक दलसम्बद्ध नेताहरूको समेत संलग्नता रहेको भन्दै यसको विरोध हुने गरेको छ । विशेषगरी परिवार दल युनिफिकेसन चर्चसँग सम्बन्धित रहेको छ । परिवार दलका अध्यक्ष एकनाथ ढकाल नेकपा एमालेको समानुपातिक सूचीमा खस–आर्य समूहमा दोस्रो नम्बरमा रहेका छन् ।


















