नरेश गुप्ता
बरियारपुर,बितेको ११ महिनाको अवधिमा बारामा कर्तव्य ज्यानका ७ वटा मुद्दामा प्रहरीले २८ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराले दिएको जानकारी अनुसार आर्थिक वर्ष ०७८÷०७९ को जेष्ठ मसान्तसम्ममा कर्तव्य ज्यान सम्बन्धि ७ वटा मुद्दा दर्ता भएको र २८ जना अभियुक्तलाई पक्राउ गरी मुद्दा चलाइएको हो ।
गत आर्थिक वर्ष ०७७÷०७८ मा जिल्ला प्रहरी कार्यालय बारामा कर्तव्य ज्यान सम्बन्धि १२ वटा मुद्दा दर्ता भएकोमा प्रहरीले ३५ जनालाई पक्राउ गरेको थियो । गत आर्थिक वर्षभन्दा चालू आर्थिक वर्षमा कर्तव्य ज्यान सम्बन्धि घटना घटेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।
कर्तव्य ज्यान सम्बन्धि मुद्दामा प्रहरीले विभिन्न कोणबाट सूक्ष्म तरिकाले अनुसन्धान गर्ने गरेको प्रवक्ता थापाले सुनाउनुभयो । यस्ता घटनामा अभियुक्तले घटनास्थलमा कुनै न कुनै प्रकारको दसी प्रमाण छोडेको हुनसक्ने र त्यसलाई आधार बनाएर अनुसन्धान गर्ने गरिएको तथा अभियुक्त पक्राउ पर्ने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार केही घटनाहरु भने जटिल प्रकृतिको हुने भएकोले अनुसन्धानमा समय लाग्ने गरेको छ ।
चालू आर्थिक वर्षको जेष्ठ महिनामा मात्र कर्तव्य ज्यान सम्बन्धि ३ वटा मुद्दा दर्ता भएकोमा १८ जनालाई पक्राउ गरि अनुसन्धानअगाडि बढाइएको प्रवक्ता थापाले जानकारी दिनुभयो ।
यो अवधिमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ का वर्ष ३८ का राकेशभक्त पौडेल, कलैया उपमहानगरपालिका वडा नम्बर ९ रामपुरका अहमद मिया चुरिहार तथा आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ६ का प्रभु कुशवाहाको कर्तव्य गरी हत्या गरिएको र सो घटनामा मुद्दा दर्ता गरी प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको बताएको छ । घटनामा संलग्न रहेको आरोपमा यो अवधिमा १८ जनालाई पक्राउ गरिएको प्रहरी प्रवक्ता थापाले जानकारी दिनुभयो ।
















