निजगढ,केरा बीमाको रकम नपाएर पीडित बनेका निजगढका किसानले मंगलवार निजगढमा विरोध प्रदर्शन गर्ने भएकाछन । बीमा बापतको रकम माग गर्दै आइतवार जिल्ला प्रशासन कार्यालय बारामा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालालाई ज्ञापनपत्र बुझाएका केरा उत्पादक तथा फलफूल व्यवसायी संघ निजगढमा आवद्ध किसानले निजगढ बजारमा किसानले दिउसो १ बजे प्रर्दशन गर्न लागेका हुन । पटकपटक माग गर्दा पनि केराको बीमाको रकम नपाएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको निजगढ ९ का केरा किसान साधुराम खरेलले बताउनुभयो । उहाँका अनुसार रकम प्राप्त नभएसम्म किसानले चरणवद्ध आन्दोलन गर्ने भएका हुन ।

बीमा रकम माग गर्दै संघका अध्यक्ष एकबहादुर श्रेष्ठको नेतृत्वमा रहेको निजगढका किसानहरुको अर्को टोली काठमाण्डौंमा पुगेको छ । टोलीले आइतवार काठमाण्डौंमा कृषिमन्त्री मृगेन्द्रकुमार सिंह र मन्त्रालयका सचिव गोबिन्द शर्मासंग भेट गरेर किसानको बीमा रकम तत्काल उपलब्ध गराउन माग गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

काठमाण्डौंस्थित हिमालयन इन्सोरेन्स कम्पनीमार्फत निजगढका किसानले केरा खेतीको बिमा गरेका थिए । निजगढका किसानहरुले कम्पनीसंग बीमाबापतको करिव ४ करोड रुपैया भुक्तानी लिन बाँकी छ । संझौताअनुसार बीमा कम्पनीले प्रतिकठ्ठा केराको क्षतिमा किसानलाई १४ हजारदेखि १५ हजार रुपैयासम्म क्षतिपूर्ति दिनुपर्ने व्यवस्था छ । गत बैशाखको दोस्रो हप्ता आएको हुरीले क्षति गरेपछि किसानहरुले सबै प्रकृया पुरा गरेर सोही समयमा बीमा रकम दाबी गरेका हुन ।

Leave a Reply