सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ स्थित प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा १५ शैयाको अस्पताल शिलान्यास गरिएको छ । प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्ने उदेश्यसहित अस्पतालको शिलान्यास गरिएको हो ।
नेपाल सरकारका स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुङले अस्पतालको शिलान्यास गर्नुभएको हो । अस्पतालको शिलान्यास गर्दै मन्त्री खापुङले दरबन्दी कायम गर्नका लागि मन्त्रालयले पहल गर्ने बताउनुभयो । देशभर निर्माण भईरहेको १५ शैयाको अस्पतालका लागि मन्त्रालयले आवश्यक जनशक्तिको दरबन्दी कायम गर्न अध्ययन गरिरहेको मन्त्री खापुङको भनाइ थियो ।
भवन निर्माण शिलान्यास भएसंगै उपमहानगरपालिकाले अस्पतालको सेवा प्राथमिक स्वास्थ्य केन्द्रको पूर्वाधारमा सुरु गर्ने भएको छ । जीतपुरसिमराका नगरप्रमुख राजन पौडेलका अनुसार एक महिनाभित्रमा सेवा सुरु गरेर अघि बढ्ने तयारी छ ।
उपमहानगरपालिकाले एकजना एमडिजीपी चिकित्सकसहित, तीन मेडिकल अधिकृत, तीनजना स्टाफ नर्स, एक एनेस्थेसिया र फार्मेसी सहायक गरी ९ जना जनशक्ति माग गरेको छ । नगर प्रमुख पौडेलले उपमहानगपालिकाकै स्रोतमा प्राथमिक स्वास्थ्य केन्द्रको पूर्वाधारबाट तत्काल सेवा सुरु गरिने भएकोले यथाशिघ्र दरबन्दी कायम गरिदिन मन्त्री खापुङको ध्यानाकर्षण गराउनुभएको थियो ।
उपमहानगरपालिकाले यसै वर्षदेखि मिर्गौलाको डायलासिस सेवा समेत सुरु गर्ने तयारी गरहेको छ । उपमहानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रवि भाष्करका अनुसार एक महिनाभित्र अस्पतालको सेवा सुरु गर्ने र एक वर्षमा डायलासिस सेवा सुरु गर्ने लक्ष्य रहेको बताउनुभयो ।
अस्पताल निर्माणका लागि काठमाण्डौको एचपिसि कन्स्ट्रक्सनसंग उपमहानगपालिकाले २० करोड ५५ लाखमा कार्य सम्झौता गरिसकेको छ । करिब सात कठ्ठा क्षेत्रफलमा सुविधा सम्पन्न निर्माण हुने उपमहानगरपालिकाका ईन्जिनियर अभयकान्त झाले ईशिलालेखलाई बताउनुभयो ।
शिलान्यास कार्यक्रममा पूर्वश्रम मन्त्री किसान श्रेष्ठ, निवर्तमान प्रदेश सभा सदस्य सुन्दर विश्वकर्मा, शोभा लामा, जीतपुरसिमराका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, वडा नं. ७ का वडाध्यक्ष सुनिल गुप्ता, कार्यपालिका सदस्य प्रलाद साह, अर्जुन रसाईली, उपमहानगरपालिकाका स्वास्थ्य शाखाका जितन ठाकुरसहित विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि र स्थानीयको उपस्थिती रहेको थियो ।
प्रत्येक स्थानीय तहमा एक अस्पताल निर्माण गर्ने संघीय सरकारको अवधारणा अनुरुप निवर्तमान नगर प्रमुख डा. कृष्ण पौडेल नेतृत्वमा रहँदा उपमहानगरपालिकाले अस्पतालको टेण्डर आवहान गरेको थियो । उक्त टेण्डर स्वीकृत गर्दै वर्तमान नगर प्रमुख राजन पौडेलले अस्पताल निर्माणको काम अघि बढाउनुभएको हो ।
नगर प्रमुख पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण उपमहानगरपालिकाका योजना अधिकृत बालाराम खड्काले गनुभएको थियो ।