नेपालमा डेंगुको प्रकोपबाट बच्ने उपायका रुपमा नागरिकमा चेतना कम भएको पाइएको छ । सरकार औषधि पसललाई सिटामोलसम्म उपलव्ध गराउन सकिरहेको छैन भने उसबाट थप अपेक्षा गर्नु स्वाभाविक हुँदैन । अहिले डेंगुले देशका सबै जिल्लामा पहुँच बनाइसकेको छ । त्यसमा पनि बागमती प्रदेश डेंगुको केन्द्र बन्दै गएको छ ।
जनघनत्व र शहरी बस्ती रहेको नेपालको बागमाती प्रदेशमा मात्र ७ हजार ४ सय ४० जना डेंगुका बिरामी छन् । काठमाडौं महानगरको फोहोर फान्न नदिने र फोहोरमा राजनीति गर्नेहरुले डेंगुका रोगी बढाउँन सघाइरहेका छन् । सरकारले शुरुदेखि नै जति प्रयास गर्नुपर्ने हो त्यो नहुँदा ठूलो संख्यामा बिरामी बढ्नुका साथै नौ जनाले ज्यान गुमाइसकेका छन् ।
१९ वर्षअघि २०६१ सालमा नेपालमा पहिलो पटक डेंगुले १ जना बिरामी भएकोमा २०७९ सालको साउनदेखि भदौमा ९ हजार ८ सय ३५ जना बिरामी भइसकेका छन् । सरकारी अस्पतालको अभिलेखअनुसार यो अभिलेख २ महिनाको मात्र हो । यतिबेला बिरामीहरु शारीरिक र मानसिक रुपमा मात्र नभै आर्थिक रुपमा समेत निकै अप्ठ्यारोमा परेका छन् । लुम्बीनी प्रदेशमा १ हजार ३ सय ५६ जना, प्रदेश नं १ मा ३ सय २० जना, सुदूर पश्चिममा २ सय ७१ जना, गण्डकी प्रदेशमा २ सय २ जना, मधेश प्रदेशमा १ सय ८० जना र कर्णाली प्रदेशमा ६६ जना डेंगु प्रमाणित बिरामी छन् । नेपालमा सन् २००४ मा १ जनामा पुष्टि भएको डेंगु सन् २००५ मा शून्य थियो ।
बिरामीको चाप अस्पतालले थाम्नै गाह्रो भएको नेपालकै जेठो वीर अस्पतालमा देखिएको छ । हाल कोभिड(१९ को पनि चाप छ भने डेंगुका बिरामी समेत थपिंदा आईसियु बेड पनि भरिएका छन् । जनशक्ति नहुँदा बिरामीले पाउनुपर्ने स्वास्थ्यसेवा सहज हुन सकेको छैन । डेंगुका अधिकांश बिरामी अस्पताल पुग्दा रगत र आईसियुको अभाव छेल्न बाध्य हुन्छन् । स्वास्थ्य मन्त्रालयले भने डेंगु रोकथामका लागि धेरै प्रयत्न गरिएको बताइरहँदा बिरामीले बेड नपाएर मृत्युको मुखमा पुग्नुपरेको छ ।