निजगढ,निजगढ नगरपालिकाले बुधवारबाट नगर क्षेत्रमा वृहद सरसफाइ अभियान सुरुवात गरेको छ ।

नगरमा डेङ्गुको प्रकोप बढदै गरेको अवस्थामा नगर कार्यपालिकाको कार्यालयले संक्रमण नियनत्रणको लागि सरसफाइ अभियान संचालनमा ल्याएको हो । अभियान अन्तर्गत बुधवार पूर्वपश्चिम राजमार्गको दाँयाबाँया क्षेत्रको सरसफाइ गरिएको थियो । यसक्रममा डेङ्गु रोगको प्रकोप नियन्त्रणको लागि औषधि स्प्रे गरिनुको साथै पसलहरुमा राखिएका पुराना टायरहरु पनि बरामद गरिएको छ ।

ईलाका प्रहरी कार्यालय निजगढबाट बिहान ८ बजेबाट सुरु भएको सरसफाइ अभियान शहिद चोकमा आएर कोण सभामा परिणत भएको थियो । सभामा बोल्दै नगर प्रमुख सुरथ पुरीले नगरपालिका एक्लैको प्रयासमा नगरलाई सरसफाइयुक्त नगर बनाउन नसकिने बताउनुभयो । नगर प्रमुख पुरीले सरसफाइ मानिसको जीवनसंग जोडिएको बताउदै नगरपालिकाको अभियानमा साथ दिन नगरबासीसंग आग्रहसमेत गर्नुभयो ।

कार्यक्रममा निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग, प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार धिताल, वडा अध्यक्ष र अन्य जनप्रतिनिधि, सुरक्षाकर्मी र कर्मचारीहरुको पनि सहभागिता रहेको थियो ।

अभियान अन्तर्गत बिहीवारबाट टोल विकास संस्थामार्फत नगरका सबै वडामा सरसफाइ थालिने निजगढ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवालले जानकारी दिनुभयो ।

Leave a Reply