कृष्ण मोहन साह
सेढवा,चाडपर्व नजिकिदै गर्दा पर्सा जिल्लाको ग्रामीण क्षेत्रका भारतीय नाकाबाट व्यापक मात्रामा तस्करी हुन थाले पनि जिल्ला प्रहरी प्रमुख भने बेखबर जस्तै बनेका छन ।
सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रण गर्ने जिम्मेवारी पाएको नेपाल प्रहरी र सशस्त्रकै संरक्षणमा पर्साको ग्रामिण क्षेत्रका विभिन्न नाकाहरूबाट तस्करी बढेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीले जिल्लाको सदरमुकाममा कडाइ गरे जस्तो देखिए पनि ग्रामीण क्षेत्रमा तस्करीमा कुनै कमी आएको छैन ।
प्रहरीले सानातिना सामानहरु पक्राउ गरेर केही काम देखाउन खोजे पनि संस्थागत तस्करी भने नरोकिएको स्थानीयले बताएकाछन । पर्सा जिल्लामा खुला सीमाना भएकाले तस्करहरुलाई अबैधरुपमा सामान नेपाल भित्र्याउन सहज भएको छ । सशस्त्र प्रहरीले दैनिक सामान बरामद गरेको देखाएर ठूलो परिमाणमा सेटिंङ्ग मिलाएर तस्करहरुलाई रातीको समयमा सामानहरु नेपाल ल्याउन दिने गरेको हो ।
पर्साको वीरगन्ज मुल भन्सार नाकाबाट अबैध सामान आउन कडाइ भएको कारणले तस्करहरुले भिस्वा, जानकीटोला, दसावता पाण्डेपुर, महादेवपट्टी, मालीबस्ती, बिजयबस्ती, ठोरीलगायतका नाकाहरुबाट सामान अबैधरुपमा भित्र्याउने गरेको पाइएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलेमतोमा भारतीय अबैध सामानहरू पर्साको ग्रामीण क्षेत्रसम्म ल्याएर सो क्षेत्रबाट करिब २०÷२५ वटा मोटरसाईकलको प्रयोग गरेर सामानहरु ग्रामीण क्षेत्रको गाउँहरुमा राख्ने गरेको र सो रुटमा चल्ने बस र टाटासुमोमा राखेर नेपालको, वीरगन्ज, चितवन, बाराको जीतपुर, सिमरा र काठमाडौंलगायतका ठाउँहरुमा पुर्याउने गरिएको छ ।
नेपाल भारत सीमा नाकामा नेपाल प्रहरीको चौकीहरु भए पनि रातभर मोटरसाईल ओहोरदोहोर गर्दा समेत कुनै नियन्त्रण गरिएको छैन । नेपाल प्रहरी र सशस्त्र प्रहरीका इन्चार्जहरुको मिलेमतोमा समेत तस्करी मौलाइरहेको छ ।
एक स्थानीय बासिन्दाका अनुसार सशस्त्र प्रहरी र नेपाल प्रहरीले पनि ‘नयाँ जोगीले बढी खरानी घसे झै’ नयाँ नयाँमा बढी हल्ला गरेको जस्तो देखिएको छ । केही स्थानबाट तस्करी गरेको सामान समाते जस्तो गर्ने तर निश्चित नाकाबाट तस्करी संस्थागत गर्ने काम भएको स्थानीयको आरोप छ ।
तस्करहरुले ठोरी गाउँपालिका वडा नम्बर ४ को मालीबस्ती र महादेवपट्टी र दसौता नाका बढी उपयोग गरेका छन । गाउँका मानिसहरु सवै सुतिसकेपछि मालीबस्तीको नाका र महादेवपट्ी र दसौता नाका प्रयोग गरेर महादेव पटि बलुवा मालिबस्ती र दसौता गाउँमा झारेर सामान तस्करी भएको स्थानीयको भनाई छ । उता महादेवपट्टी जानकीटोलको दसावता र पाण्डेपुरको नाकाबाट दिनहँु जसो साँझ ६ बजेदेखि बिहान दस बजेसम्म भारतीय सामान चिनी, सख्खर, बोइलर कुखुरा, सेतो अन्डा, भारतीय रसायनिक मल, हार्डवयर, चिसो पेय पदार्थ, बेकरी आईटम, राङ्गा, भैसी लगायतका बस्तुहरुको व्यापक मात्रामा तस्करी हुँदा समेत प्रहरीले नियन्त्रणमा कुनै चासो नदेखाउनुले नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतो हुनसक्ने भन्दै स्थानीयले आरोप लगाएका छन ।