बारा जिल्लाको जीतपुरसिमरा सार्वजनिक सरोकार समितिले पथलैयामा तत्काल ट्रमा सेन्टर सन्चालन गर्न माग गरेको छ । उनीहरुले यो माग राखेको धेरै भयो र आइतबार मात्रै उनीहरुले मुख्यमन्त्री लालबावु राउतलाई ज्ञापन पत्र बुझाएका छन् ।प्रदेश सरकारले बिगत ३ वर्षदेखि ट्रमा सेन्टर सन्चालनका लागि बजेट बिनियोजन गर्दै आएको र मुख्यमन्त्री गद्दी सहितको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरि तत्काल कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाइएको भए पनि हालसम्म ट्रमा सेन्टर स्थापनामा नआउनु बिडम्बनाको कुरा हो ।खासगरी पूर्वश्चिम लोकमार्ग र त्रिभुवन राजपथको संगम स्थलको रुपमा रहेको पथलैयामा ट्रमा सेन्टर निर्माण नहुँदा यस क्षेत्रको सडक दुर्घटनामा परि घाइते हुनेहरुको उपचारमा समस्या परेको र अकालमा धेरैले ज्यान गुमाउन परिरहेको छ । यस क्षेत्रको राजमार्गमा सवारी दुर्घटनामा परेका बिरामीहरुको तत्काल उपचार गर्ने सुविधा सम्पन्न अस्पताल वा स्वास्थ्य सेवा केन्द्रको अभाव रहेको छ । दुर्घटनामा घाइते मध्ये धेरैले तत्काल उपचार प्राप्त गर्न सकेको खण्डमा उनीहरुको ज्यान जोगिन सक्छ । तर उनीहरुले उपचारको ५०÷६० किमी टाढा पर्ने वीरगन्ज वा हेटौडा जानुपर्ने अवस्था छ । अझै त्योभन्दा पनि टाढा उपचारको लागि धेरैलाई भरतपुरसम्म लैजानुपर्ने अवस्था छ । घाइते मध्ये धेरैको उचारको  लागि अस्पताल लैजादा लैजादै बाटोमा नै मृत्यु हुने गरेको दुखद अवस्था छ ।नागरिकले अवस्था बेहोरिरहदा सरकार मुकदर्शक बन्नु आपत्तिकै कुरा हो । यस्तो संवेदनशिल बिषयमा त सरकारहरु आफै जिम्मेवार बन्नु पर्ने हो । तर बिडम्बनाको कुरा सरकार जिम्मेवार बन्न सकेको छैन । बरु उनीहरुले ध्यान नै नदिएको देखिएको छ । ट्रमा सेन्टर संचालनमा आउदा यसै क्षेत्रका नागरिकहरुलाई बढी फाइदा हुने हो । एक पटक यस बिषयमा सरोकारवलाहरुले ध्यानाकर्षण गराएपछि तत्काल प्रदेश सरकारको ध्यान जानु पर्नेमा अझै प्रदेश सरकार निन्द्रमा बस्नु भनेको बिडम्बना नै हो ।

 

 

Leave a Reply