काठमाण्डौं,छैटौँ संस्करणको साफ महिला च्याम्पियनशिप २०२२ को उपाधि बङ्ग्लादेशले जितेको छ । दशरथ रङ्गशालामा भएको खेलमा नेपाललाई तीन–एकले हराउँदै बङ्ग्लादेशले उपाधि जित्यो ।

बङ्ग्लादेशको जितमा स्याम सुन्हारले खेलको १४ औँ र श्रीमोती के. सरकारले ४२ र ७७ औँ मिनेटमा गोल गरिन् । नेपालका लागि अनिता बस्नेतले खेलको ७० औँ मिनेटमा सान्त्वना गोल गरिन् । साफ महिला च्याम्पियनशिपले यसपालि नयाँ विजेता पाएको हो ।

नेपाल भने पाँचौँ पटक फाइनलमा पराजित बनेको छ । यसअघि पाँचमध्ये चार पटक फाइनल खेलेको नेपाल भारतसँग पराजित हुँदै आएको थियो । यसअघिका सबै संस्करण भारतले जितेको थियो । सेमिफाइनलमा भारतलाई पराजित गर्दै फाइनल पुगेको नेपाल बङ्ग्लादेशसँग पराजित हुँदा फेरि पनि उपाधि जित्न असफल भयो । नेपाललाई हराएको बङ्गलादेश पहिलो पटक च्याम्पियन बन्यो ।

यसैबीच नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक कुमार थापाले राजीनामा दिएको घोषणा गरेका छन् । सोमवार सम्पन्न साफ महिला च्याम्पियनशिपको फाइनलपछि भएको पत्रकार सम्मेलनमा बोल्दै थापाले राजीना दिएका हुन् । उपाधि जिताउन नसकेपछि पदमा बस्नु उचित नरहेको बताउँदै उनले पद त्यागको घोषणा गरेका हुन ।

थापाले यसै प्रतियोगिताको सुरुमा प्रशिक्षकको जिम्मेवारी पाएका थिए । यसअघि उनले सन् २०१६ मा प्रशिक्षकको जिम्मेवारी पाउँदा पनि टोली सेमिफाइनलमा रोकिएको थियो । त्यस बेला सिलीगुडीमा भएको फाइनलमा भारत नेपाललाई हराउँदै विजेता बनेको थियो ।

Leave a Reply