दुष्यन्त चौधरी

बारा,आइतवार जितिया पर्वको मुख्य दिन । बारा लगायत मध्यतराईका महिलाले विशेष रुपमा मनाउने यो पर्वको विधिवत् सुरुवात भने शनिवारदेखि भइसकेको छ ।

जितिया पर्वको मुख्य दिन आइतवार निराहार व्रत बसेर सोमवार विधिवत् रुपमा पर्वको समापन गरिनेछ । परिवारको सुख, शान्ति र दीर्घायुको कामना गर्दै आपसी प्रेम साटासाट गरेर जितिया मनाइन्छ । जितियामा निराहार व्रत बसेका महिलाले जलाशयमा नुहाएर माटोको प्रतिमामा पूजा गर्दछन् ।

आश्विन कृष्ण अष्टमीका दिन विशेषगरी तराईवासी मधेसी र थारु महिलाले जितिया पर्वलाई आफ्नो सन्तानको सुख, शान्ति र प्रगतिको कामनासहित मनाउने एउटा उत्साहजनक एवम् विशिष्ट पहिचान भएको पर्वका रुपमा मनाइन्छ ।

पर्वका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रा संस्कृति र संस्कारमा रहेका विशिष्ट पहिचानका विशेषतालाई जितिया पर्वले पनि समेटेको उल्लेख गर्नुभएको छ । साथै उहाँले यस पर्वले विविधताभित्र एकता र सामाजिक सद्भावलाई प्रवर्द्धन गर्नमा टेवा पुर्याएको बताउनु भएको छ ।

Leave a Reply