बारा,बारा जिल्लामा बाल हेल्पलाईन सञ्चालन गर्दै आएको संस्था संरक्षण नेपाल बाराले भारतको मुम्बईबाट उद्धार गरिएका १० जना बालक नेपाल ल्याएर अभिभावकको जिम्मा लगाइएको छ ।

उद्धार गरिएका बालकमध्ये रौतहटको परोहा, ईशनाथ नगरपालिकाका ८ जना, मोरङ बिराटनगरका १ जना र १ जना सिराहा सुखीपुरका छन् ।६ देखि ८ महिना पहिला उनीहरु गाउँकै चिनेका मानिसको साथमा मुम्बई पुगेका थिए । मिसन रेस्क्यु अपरेसन ईन्डियाले गत अगष्टमा मुम्बईको नागपाडा, नविन मुम्बई क्षेत्रका ४ वटा ब्याग उद्योगमा छापमारी गरेर निकृष्ट श्रममा लगाईएका १२ जना बालकको उद्धार गरिएको थियो ।

पढ्ने खेल्ने उमेरका ती बालकलाई बिहान ९ बजेदेखि १८ घण्टासम्म निरन्तर काममा लगाइन्थ्यो । काम गरे वापत आफूहरुलाई ज्याला समेत नदिने गरेको रौतहटको परोहा नगरपालिकाका १७ वर्षीय किशोरले जानकारी दिए । गाउँकै औरन्जेब शेखले उनी सहित ८ जनालाई मुम्बई लगेर निकृष्ट श्रममा लगाएका थिए ।

रक्सौल हुँदै नेपाल ल्याईएका उनीहरुलाई हिजो अभिभावकको जिम्मा लगाईएको छ । जिल्ला प्रहरी कार्यालय पर्साको सभाहलमा एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई अभिभावकको जिम्मा लगाईएको थियो ।अबदेखि उनीहरुलाई कामका लागि भारत नपठाउने, पढाउने प्रतिबद्धता जनाएर अभिभावकको जिम्मा लगाईएको बाल हेल्पलाईन सञ्चालन गर्दै आएको संस्था संरक्षण नेपालका अध्यक्ष बृजमोहन कुशवाहाले जानकारी दिनुभयो ।

Leave a Reply