वीरगन्ज,वीरगन्ज महानगरपालिकाले एक सय बेड क्षमताको कोभिड अस्थायी अस्पताल र एक सय बेड क्षमताको आइसोलेशन सेन्टर आगामी शुक्रवारदेखि संचालन गर्ने भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डिसीसीएमसीको मंगलबार बसेको बैठकले गरेको निर्णय अनुसार महानगरपालिकाले शुक्रबारदेखि कोभिड अस्थायी अस्पताल र आइसोलेशन सेन्टर संचालन गर्ने तयारी गरेको हो । वीरगंजमा कोभिड संक्रमितहरुको संख्या बढ्दो अवस्थामा रहेको र संक्रमित व्यक्तिहरुमा अक्सिजन दिनु पर्ने अवस्था देखिएकोले अस्पतालमा उपचार गर्ने ठाउँ समेत नभएको अवस्थामा महानगरपालिकाले आफ्ना नागरिकको जीवन रक्षाका लागि कोभिड अस्पताल र आइसोलेशन सेन्टर संचालन गर्न लागेको महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले बताउनु भयो । वीरगन्जको घडिअर्वास्थित गोपाल मण्डली धर्मशालामा अस्थायी कोभिड अस्पताल र आइसोलेशन सेन्टर वैशाख २४ गते शुक्रबारदेखि संचालन गर्न लागिएको नगर प्रमुख सरावगीले बताउनुभयो ।

कोभिड अस्थायी अस्पतालमा डाक्टरसहित प्यारामेडिकल स्टाफ समेत राखेर कोभिड संक्रमितहरुको उपचार गरिने र आइशोलेसन सेन्टरमा अक्सिजन सहितको बेडको व्यवस्था गरिने नगर प्रमुख सरावगीले जानकारी दिनुभयो । होम आइसोलेशनमा रहेका संक्रमितहरुको लागि स्वास्थ्यकर्मीको निगरानीमा औषधी र अक्सिजन दिनुपर्ने भएकोले होम आइसोलेशनमा रहेका अक्सिजन प्रयोग गर्नु पर्र्ने संक्रमितहरुलाई अस्थायी कोभिड अस्पतालमा भर्ना गरिने नगर प्रमुख सरावगीले वताउनुभयो । होम आइसोलेशनमा अक्सिजन प्रयोग गरिरहेका बिरामीहरुको अवस्था समेत जटिल बन्न थालेकोले डाक्टरको निगरानीमा उपचार गर्न महानगरपालिकाले कोभिड अस्पताल संचालन गर्न लागेको नगरप्रमुख सरावगीले जानकारी दिनुभयो । कोभिड अस्पतालमा उपचारार्थ भर्ना भएका संक्रमितहरुलाई अक्सिजन, औषधी र खाजा, खाना समेत महानगरपालिकाले निःशुल्क रुपमा उपलब्ध गराउने नगर प्रमुख सरावगीले बताउनुभयो ।

वीरगन्ज महानगरपालिकाले केही दिनअघि मात्र निशुल्क एम्वुलेन्स र शव वहान सेवा संचालनमा ल्याइ सकेको छ । त्यसैगरी लायन्स क्लवको साझेदारीमा कोभिड संक्रमितहरुको निःशुल्क अक्सिजन सिलिण्डर पनि महानगरपालिकाले उपलब्ध गराउदै आएको छ । वीरगन्ज महानगरपालिकाले कोभिड संक्रमितलाई वडा कार्यालयमार्फत घरघरमा निशुल्क औषधी समेत वितरण गदै आएको छ । वीरगन्जमा गत वर्ष कोभिड १९ को संक्रमण समुदाय स्तरमा फैलिएपछि महानगरपालिकाले वीरगन्जबासीको उपचारको लागि वीरगन्जस्थित गण्डक अस्पताललाई भाडामा लिएर अस्थायी कोभिड अस्पताल संचालन गरेका थियो । गण्डक कोभिड अस्पतालमा ४०४ जना र महानगरपालिकाले संचालन गरेको सिद्धार्थ आइसोलेशन सेन्टरमा १२३ जना संक्रमितहरुहो उपचार गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here