कलैया,बारा जिल्लाको सुवर्ण गाउँपालिका– ८ का वडाध्यक्ष सैबुल्लाह मियाँ कुजडामाथि आफ्नै बहिनीलाई कुटपिट गरी ३ लाख रुपैयाँ लुटपाट गरेको आरोप लागेको छ ।पीडित सुवर्ण गाउँपालिका– ६ मुसहर्नाका ओजिर मियाँ कुजडा र उनकी श्रीमती मेरातुन नेशाले वडाध्यक्ष कुजडासहितको समूहले आफूहरूमाथि आक्रमण गरी डाँका शैलीमा नगद लुटेर फरार भएको दाबी गरेका छन् ।

घरबाट कलैयातर्फ जाँदै गर्दा मझरिया पानी ट्याङ्की नजिक मङ्गलवार बिहान करिब ११ बजे उहँमाथि कुटपिट भएको बताइएको छ । पीडित मेरातुन खातुनका अनुसार वडाध्यक्ष कुजडा तीनवटा मोटरसाइकलमा करिब ६ जनाको समूहसहित आएका थिए । उनीहरूले मेरातुनलाई मुक्काले हानेर जमीनमा लडाएपछि सारिमा बाँधिएको नगद लुटेर फरार भएको बताइएको छ । आक्रमणमा मेरातुनका छोरा पनि घाइते भएका छन् । छोरालाई छातीमा प्रहार गर्दा केही समय अचेत भएको मेरातुनले बताउनुभयो ।
घटनामा घाइते ओजिर मियाँ कुजडाको कलैया प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
घटनाबारे जानकारी पाए लगत्तै प्रहरी चौकी तेलकुवाबाट प्रहरी सहायक निरीक्षक वीरेन्द्र साह कानुको नेतृत्वमा टोली खटिएको थियो । तर, पीडित पक्षले स्थानीय प्रहरीमा उजुरी दिन नसकेर जिल्ला प्रहरी कार्यालय बारामा जान लागेको बताएका छन् ।
बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) विजयराज पण्डितले लुटपाटको विषयमा औपचारिक जाहेरी नआएको बताउनुभयो । “जाहेरी आए लगत्तै प्रहरीले छानबिन अघि बढाउने छ,” उहाँले भन्नुभयो ।यता, वडाध्यक्ष सैबुल्लाह मियाँ कुजडाले भने आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । उनले जग्गाको विषयमा विवाद भएको र त्यसै क्रममा घम्साघम्सी मात्र भएको बताए । “पीडित भनिएकी महिला मेरो साखै बहिनी हुन् । आफ्नै नातेदारबाट लुटपाट गर्ने कुरै हुँदैन,” उनले भने ।कुजडा नेकपा (माओवादी केन्द्र)बाट लगातार दुई कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका हुन् ।


















