वीरगन्ज,जिल्ला प्रशासन कार्यालय पर्साले कोरोना महामारीबाट जोगिन निषेधाज्ञा आदेश जारी गरेपछि पर्साको ग्रामीण भेगमा भारतीय मालसामानको तस्करी बढेको छ । निषेधाज्ञा आदेश जारीभएसंगै सीमावर्ती क्षेत्रका स्थानीय अवैध कारोबारमा सक्रिए बनेका हुन । निषेधाज्ञाको समयमा भारतबाट चोरी पैठारी गर्दै सामानहरु नेपाल भित्र्याउने क्रम बढेको छ ।

निषेधाज्ञाकै समयमा पटक–पटक अवैध रुपमा नेपाल भित्र्याइएका सामान प्रहरीले बरामद गरिरहेको छ । स्थानीय प्रशासनले गएको बैशाख १६ गतेबाट सर्वसाधारणलाई कोरोना संक्रमणबाट जोगाउन जिल्लामा निशेधाज्ञा जारी गरेको छ ।

सोमबार मात्रै पर्सा प्रहरीले भारतबाट चोरी पैठारी गरी नेपाल भित्र्याएको एक लाख २२ हजार ९० रुपैयाँ मूल्य बराबरको सामान बरामद गरेको छ । निशेधाज्ञाकै बीच अवैध तरिकाले भारतबाट नेपाल भित्र्याएका ३४ लाख ७ हजार ९ सय ७० रुपैयाँको अवैध सामान बरामद गरिसकेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरीले चोरीको बलेरो गाडी समेत नियन्त्रणमा लिएको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताउनुभयो । बैशाख २० गते प्रहरीले ६ लाख ९४ हजार ३ सय ५० रुपैयाँको अवैध सामान सहित २५ लाखको चोरीको बलेरो गाडी समेत नियन्त्रणमा लिएको थियो । त्यसयता पनि दुई÷तीन दिनको अन्तररालमा डेढ दुई लाखका सामान बरामद हुने गरेको पर्साका प्रहरी प्रवक्ता समेत रहनुभएका खनालले बताउनुभयो । प्रहरीले समान बरामद गरे पनि तस्करीमा संलग्न मानिस भने खासै पक्राउ गरेको पाइदैन । प्रहरीलाई देखेपछि सामान फालेर कारोबारी भाग्ने हुँदा सबै तस्करहरुलाई नियन्त्रणमा लिन नसकेको प्रहरीको दाबी छ । निषेधाज्ञाको समयमा प्रहरीले केही लागुऔषध कारोवारी र ढुवानीकर्ता समेत पक्राउ गरेको छ । प्रहरीले बरामद गरेको सामान थप कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाउदै आएको छ ।

Leave a Reply