दुष्यन्त चौधरी

बारा,कलैया उपमहानगरपालिकाका मेयर बिनोद साहले कार्यकालको १ सय दिनको उपलब्धि सार्वजनिक गर्नुभएको छ । कलैया उपमहानगरपालिकाको सभा हलमा पत्रकार सम्मेलनमार्फत उहाँले १ सय दिनको उपलब्धिलाई ३८ बुँदामा सार्वजनिक गर्नुभएको हो ।

उहाँले १ सय दिनमा फुटपाथको ठेला हटाउनेदेखि कलैयाकोे मुख्य चोकमा रहेको घण्टाघरको घडी जडान कार्यमा भएको प्रगति बारे जानकारी गराउनुभएको थियो । घडी जडानमा केही ढिलाइ भएको भए पनि अबको एक साताभित्र जडान कार्य सम्पन्न हुने पत्रकार सम्मेलनमा उहाँले जानकारी दिनुभयो । मेयर साहले आफूहरू १ सय दिनको दौडमा नरहेको र काम गर्नका लागि पाँच वर्षे योजना रहेको पनि बताउनुभयो ।

नगर प्रमुख साहले पत्रकार सम्मेलनमा मानमत– मटिअर्वा सडक खण्डमा पर्ने संरचनाका धनीहरुले मुआब्जा लिएर पनि संरचना नहटाएको पाइएमा उपमहानगरपालिकाको डोजर लगाएर त्यस्ता संरचना हटाउने सुनाउनुभयो ।

त्यसैगरी उपमहानगरपालिकाभित्र शिक्षा र स्वास्थ्य जस्ता संवेदनशील क्षेत्रमा जोसुकैले गल्ति गरेको पाए पनि कारबाही प्रकृया अघि बढाउन पछि नपर्ने जानकारी दिनुभयो । साथै उपमहानगरपालिकाको वडा नम्बर १४ मा २ वर्षभित्र राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम निर्माण गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभयो ।

कलैयामा सवारी पार्किङको समस्या देखिएकाले घण्टघर नजिक निःशुल्क सवारी पार्किङको व्यवस्था गरिएकोसमेत उहाँले जानकारी दिनुभयो । कृषकलाई सहजरूपमा मल खाद्यको आपूर्ति व्यवस्था मिलाएर कार्य अघि बढेको पनि उहाँले सुनाउनुभयो ।

त्यसैगरी एकीकृत सम्पत्ति कर र राजश्व प्रणालीमा सुधार हुनुको साथै सबै वडामा एकीकृत सम्पत्ति कर प्रणाली जडान र अनलाइन बिलिङ्ग प्रणाली सुचारु गरिसकेको जानकारी दिनुभयो । साथै आर्थिक प्रशासन शाखाबाट चेकरहित भुक्तानी प्रणाली कार्यको शुरूवात गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा मेयर साहले भन्नुभयो, ‘हाम्रो १ सय दिन कस्तो रह्यो भन्ने बारेमा हामी आफैले मूल्यांकन गर्नेभन्दा पनि नगरबासीले कसरी हेर्नुभएको छ भन्ने कुरा अर्थपूर्ण हुन्छ ।’ उहाँले अगाडि भन्नुभयो, कार्य क्षेत्रभित्र इमान्दार र जवाफदेही भएर काम गरेका छौ ।’

१ सय दिनको छोटो अवधिमा खासै काम गर्न नसकिने भन्दै उहाँले यो अवधिमा नगरबासीमा सकारात्मक उर्जा प्राप्त भयो र परिवर्तनको महसुस भयो भने मात्रै पनि भविष्यमा थप काम गर्न सकिने उहाँले बताउनुभयो ।

पत्रकार सम्मेलनमा नगर प्रमुख साहसँगै केही वडा अध्यक्षहरूको समेत उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनको संचालन कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले गर्नुभएको थियो ।

Leave a Reply