सिम्रौनगढ,बाराको आदर्शकोतवालस्थित जमुनी नदी सिँचाई आयोजनाको बाँध बनाउने काम अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको चिम्टाही जमुनी नदीमा निर्माणाधिन सिँचाई आयोजनाको बाँध निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।बाँधको निर्माण कार्य सम्पन्न भएपछि आयोजनाले नहरमा पानी सुचारु गर्ने तयारी गरेको छ । पानी नपरेर समयमै धान रोपाइँ गर्न नपाएपछि चिन्तित बनेका स्थानीय किसानहरुमा सिँचाई आयोजनाको बाँध निर्माण अन्तिम चरणमा पुगेको खबरले खुसियाली छाएको छ ।आकासे पानीको भरमा खेती गर्दैआएका यस क्षेत्रका किसानहरु यो वर्ष पर्याप्त पानी नपरेपछि समयमै धान रोप्न नपाएर चिन्तामा छन । सिँचाई आयोजना संचालन गर्न मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बाँध निर्माणका लागि पहल गर्नुभएको हो । बाँध निर्माण कार्य तादरुकताका साथ गर्न मुख्यमन्त्री यादव पटकपटक आफैँ निर्माणस्थलमा पुग्नुभएको थियो । मुख्यमन्त्री यादवले दुई तीन दिनभित्रमा सम्पन्न गर्ने बाँध निर्माणको काम भइरहेको बताउनुभएको छ ।अहिले तराईको अधिकांश ठाउँमा पानीको हाहाकार मचिएको छ । वर्षा नहुँदा बारासहित प्रदेशका अधिकांश जिल्लामा खडेरीको त्रास छ । यस्तो अवस्थामा बाँध निर्माणले आफूहरूलाई राहत पुग्ने स्थानीय किसानहरूको भनाइ छ ।जमुनी सिँचाई आयोजनाबाट जिल्लाका करिब २५ गाउँको हजारौं हेक्टर जमिनमा सिँचाई सुविधा पुग्ने छ ।

 

Leave a Reply