रौतहट,रौतहटमा वन संरक्षणका लागि गस्तीमा खटिएको टोलीमाथि आक्रमण गर्ने गुजरा नगरपालिका २ मैरा गाउँ बस्ने वर्ष २६ का राजकिशोर साहलाई प्रहरी टोलीले वीरगञ्जबाट पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र प्रहरी चौकी वीरगञ्ज बिर्ताको संयुक्त टोलीले लुकिछिपी बसेको अवस्थामा शनिवार साँझ आरोपी राजकिशोरलाई वीरगञ्जबाट पक्राउ गरेको हो ।हाल उनी इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको हिरासतमा रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी वसन्त गौतमले बताउनुभएको छ ।

सहायक वन अधिकृत राजकुमार चौधरीको जाहेरीको आधारमा प्रतिवादी राजकिशोर साह लगायतमाथि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा ज्यान मार्ने उद्योग मुद्दा दायर भई जिल्ला अदालत रौतहटबाट पक्राउ आदेश जारी भएको थियो । काठ चोरी भइरहेको सूचनाका आधारमा जङ्गल क्षेत्रमा पुगेको डिभिजन वन कार्यालय र रङ्गपुर साझेदारी वन उपभोक्ता समितिको संयुक्त टोलीमाथि गत १९ गते राती साढे १२ बजे राजकिशोर लगायतको समूहले आक्रमण गरेको हो ।
आक्रमणमा डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार चौधरी, वन रक्षक सुरेन्द्र चौधरी, रङ्गपुर साझेदारी वन उपभोक्ता समितिका सदस्य अर्जुन चौधरी र विमल थापा तथा गस्ती गाडीका चालक अरविन्द पटेलसमेत घाइते भएका थिए ।जिल्लाको रङ्गपुर साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष अशोक यादवका अनुसार वन क्षेत्रमा काठ चोरी भइरहेको सूचनापछि टोली गस्तीमा गएको थियो । तर जङ्गलभित्र पुगेपछि उक्त समूहले सङ्गठित रूपमा उनीहरूमाथि आक्रमण गरेको थियो ।वन संरक्षणमा खटिएका कर्मचारीमाथि नै आक्रमण भएपछि रौतहटका वन क्षेत्रमा सक्रिय तस्करी सञ्जालको प्रभाव र सुरक्षाको विषय फेरि चर्चामा आएको थियो ।


















