वीरगञ्ज, २२ भदौ । दुबईबाट मुङको दाल बोकेर आएको कन्टेनरबाट बरामद विदेशी चुरोट मंगलबार सुक्खा बन्दरगाह कार्यालयले नष्ट गरेको छ । हालसम्म आयातकर्ता सम्पर्कविहीन छन् । दुबईबाट भारत हुँदै सुक्खा बन्दरगाहमा आएको कन्टेनर गत असार १३ मा भन्सार कार्यालयका कर्मचारीले जाँचपासका लागि खोल्दा ५८ लाख ३८ हजार ४ सय खिल्ली चुरोट बरामद भएको थियो ।
काठमाडौं टोखास्थित कालिका इन्टरप्राइजेजले आयात गरेको उक्त कन्टेनर जाँचपासका लागि भन्सार प्रज्ञापनपत्रमा मुङ दाल घोषणा गरेको थियो । कन्टेनरको अगाडिपट्टि मुङको दाल र पछाडिपट्टि कन्टेनरबाट गुडाङ गरम र मोन्ड भेरियन्स ब्रान्डको चुरोट करिब ४ सय कार्टुनमा राखिएको फेला परेको थियो ।
त्यसबेला मुचुल्का उठाएर तत्काल कन्टेनर सिल गरिएको थियो । प्रज्ञापनपत्रमा आयातकर्ताले २६ हजार ६१० केजी मुङ दाल आयात गरेको घोषणा गरेका थिए । तर, कन्टेनरमा १४ हजार ८२५ केजी मात्र फेला परेको थियो ।सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष न्यौपानेका अनुसार नेपालको कानुनअनुसार बिक्री गर्न नमिल्ने भएकाले विदेशी चुरोट नष्ट गरिएको हो । ‘नेपालको कानुनअनुसार चुरोटको बट्टामा ७५ प्रतिशत भागमा स्वास्थ्यमूलक जानकारी र तस्बिर हुनुपर्छ,’ उनले भने, ‘त्यस कारणले चुरोटलाई लिलाम बिक्रीसमेत गर्न मिल्दैनथ्यो ।’
भन्सार कार्यालयका कर्मचारी, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधि र सशस्त्र प्रहरीको रोहवरमा चुरोट नष्ट गरिएको हो । आयातकर्तालाई भन्सार कार्यालयले पत्राचार गरे पनि हालसम्म सम्पर्कविहीन छन् ।
उनीहरूलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्राचार गरिएको न्यौपानेले जनाए । हुलाक रजिस्ट्रीमार्फत आयातकर्ताको ठेगानामा भन्सार कार्यालयले पत्राचार गरेको भए पनि आयातकर्ता सम्पर्कमा आएका छैनन ।