निजगढ,निजगढमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा निजगढ सार्वजनिक सरोकार समितिले बुधवार निजगढको पूर्वपश्चिम लोकमार्गमा विरोध प्रर्दशन र चक्का जाम गरेको छ ।
प्रदर्शनमा सहभागीहरुले विमानस्थल निर्माणविरुद्ध न्यायलयले हालै गरेको फैसलाको विरोधमा नारा लगाउदै पूर्वपश्चिम लोकमार्गमा नाराबाजी गरेका हुन । प्रदर्शनमा सहभागीहरुले अदालतको फैसला खारेज गरेर विमानस्थल निर्माण कार्य तत्काल सुरु गर्नुपर्ने माग गरेका थिए । उनीहरुले फैसलामा संलग्न न्यायधिसहरुको राजीनामाको समेत माग गरेका छन ।
निजगढस्थित शहिद चोकबाट सुरु भएको विरोध प्रदर्शन राजमार्गको बकैयादेखि र पूर्वमा लच्कासम्म पुगेर शहिद चोकमा कोण सभामा परिणत भएको थियो । कोणसभामा बोल्दै नेकपा एमालेका नेता एंव युवा तथा खेलकुद पूर्वमन्त्री पुरुषोत्तम पौडेलले नेपाल र नेपालीको प्रगति र संवृद्धि देख्न नचाहने विदेशीको दास बनाउन चाहने तत्वले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण रोक्ने प्रयास गरेको बताउनुभयो । उहाँले आफूहरुले विमानस्थल निर्माण गराएरै छाडने पनि बताउनुभयो । ‘नेपाल भारतको दास होइन, उहाँले भन्नुभयो, देशको उन्नति, प्रगति र स्वतन्त्रताको लागि जुनसुकै मूल्य चुकाएर भए पनि विमानस्थल बनाउनै पर्छ ।’ उहाँले विदेशीको इशारामा देशको हित विपरीत भएको फैसला आफूहरुले नमान्ने र पुनरावलोकन गर्न अदालतलाई बाध्य परिने बताउनुभयो ।
कोणसभामा राप्रपाका नेता एंव युवा समाजसेवी विनोद भारतीले विमानस्थल नबनाउने अदालतको जनविरोधी फैसलाको विरोधमा ज्यानको बाजी लगाएर आन्दोलनमा उत्रनु पर्ने बताउनुभयो । उहाँले न्यायधिसहरुले गलत फैसला गरेको हुनाले आफूहरुले विरोध गर्नुपरेको बताउनुभयो । गल्ति गर्ने जो कोही भएपनि विरोध गरिन्छ, उहाँले भन्नुभयो, न्यायधिस भन्दैमा उनीहरुले गरेको गलत कामको समर्थन गर्न सकिदैन ।’
त्यसैगरी सरोकार समितिका सदस्य कृष्णप्रसाद खरेलले अदालतको निर्णय सच्याउन दवाव दिने उद्देश्यले गरिएको आन्दोलनमा विकासप्रेमी सबै जनसमुदायलाई आन्दोलनमा उत्रिन अनुरोध गर्नुभयो ।
सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठको अध्यक्षतामा भएको सो प्रर्दशन र कोणसभामा सयौं सर्वसाधारणको सहभागिता रहेको थियो । समितिले बिहीवार दिउसो पनि राजमार्गमा १ घण्टा चक्काजाम र प्रदर्शन गर्ने निर्णय गरेको छ । यसअघि विमानस्थल निर्माणको लागि भनेर निजगढका युवा तथा विद्यार्थीहरुले स्वतस्फर्त रुपमा गर्दै आएको आन्दोलनपछि बुधवारबाट निजगढ सार्वजनिक सरोकार समितिले पनि आन्दोलनको थालनी गरेको हो । अदालतको निर्णय पुनरावलोकन भएसम्म आन्दोलन जारी राखिने समितिका संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।