रौतहट,किसानहरुलाई छिटो युरिया मल उपलब्ध गराउन र पेन्सनको व्यवस्था गर्न माग गर्दै रौतहटमा किसानले ट्याक्टर ¥यालीसहित प्रदर्शन गरेका छन ।
आईटी आर्मीको किसान मोर्चाले बुधबार जिल्लाको विभिन्न स्थानबाट आएका हजारौँ ट्याक्टर रौतहटको मध्यभाग गरुडामा भेला भएर सदरमुकाम गौरसम्म प्रदर्शन गरेका छन् ।
धान बालीमा हाल्ने मुख्य समयमा युरिया मलको अभाव भएकोले किसानलाई समस्या परेको भन्दै युरिया मल अविलम्ब उपलब्ध गराउन माग गर्दै प्रर्दशन गरिएको जनाइएको छ । प्रदर्शनकारीले किसानलाई सम्मान गर्दै किसानलाई पेन्सनको व्यवस्था गर्न, किसानलाई पर्याप्त र सहज ऋणको व्यवस्था गर्न, कृषि बिमा लागु गर्न, ट्याक्टर आयातमा लाग्ने सम्पूर्ण कर खारेज गर्न पनि माग राखेका छन् ।
उनीहरुले दलाल पुँजीवादी व्यवस्था खारेज गरी किसान मजदुरको राज्य व्यवस्था लागू गर्न नाराबाजी गरेका थिए । प्रथम चरणको किसान संघर्षको कार्यक्रम अन्तरगत ट्याक्टर ¥याली निकालिएको र माग पुरा गराउन लगातार संघर्ष जारी राख्ने प्रदेशसभा पूर्वसदस्य कुन्दन कुश्वाहाले बताउनुभयो । उहाँले किसानका मागहरु सम्बोधन नभएको खण्डमा रौतहटमा मात्र नभई देशभर संघर्ष गर्ने बताउनुभयो ।
ट्याक्टर ¥याली आयोजना आईटी आर्मीको किसान मोर्चाले भाद्र २७ गते प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाउने, भाद्र ३० गते मल उपलब्ध गराउने स्थानीय तहको सहकारी डिपो घेराउ गर्ने, असोज १ गते साल्ट ट्रेडिङ्ग कर्पोरेसन र कृषि सामग्री कम्पनीको कार्यालयको घेराउ गर्ने तथा असोज ५ गते पहिलो चरणको संघर्षको कार्यक्रमको समीक्षा गरी दोस्रो चरणको संघर्षको घोषणा गर्ने जनाएको छ ।