निजगढ,पचरौता नगरपालिकाकी उपप्रमुख नसिमा खातुनसहित परिवारका सदस्यमाथि भएको आक्रमणको विरोध चर्किदै गएको छ ।गत शनिवार राति बैरियास्थित घरमै प्रवेश गरेर एक समूहले आक्रमण गरेको घटनामा पछिल्लो पटक हिजो नेकपा एमाले बाराले विज्ञप्ति निकालेर विरोध जनाएको हो । हिजो नै जीतपुरसिमरा उपमहानगरपालिकाले पनि विज्ञप्ति जारी गर्दैै घटनामा विरोध जनाएको छ ।नेकपा एमालेका अध्यक्ष एवंम कलैया उपमहानगरपालिकाका प्रमुख विनोद साहले जारी गरेको विज्ञप्तिमा पचरौता नगरपालिकामा भएको घटनाप्रति निन्दा गर्दै दोषि उपर कडा कारबाहीको माग गरिएको छ । ‘उपप्रमुख नसिमा खातुन, उहाँका श्रीमान नेवाजी अंसारी, स्थानीय बासिन्दा कन्हैयालाल साहलगायतकामाथि अराजक समुहबाट गरिएको संघातिक हमलासहित घर र सिसि क्यामरा तोडफोड लगायत लुटपाट गरिएको घटनाप्रति नेकपा एमाले जिल्ला कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।गत भाद्र २ गते मनोज यादवको नेतृत्वमा १०÷१२ जनाको समुहले राति अन्दाजी ८ बजे उपप्रमुख खातुन लगायतकालाई कुटपिट गरि घाईते बनाईएको विज्ञप्तिमा उल्लेख छ । घटनाप्रति एमाले बाराले घोर भत्सर्ना पनि गरेको छ । ‘यसरी स्थानिय सरकारका जनप्रतिनिधिको मनोबल गिराउन गरिएको यस्तो अराजक र निन्दनीय कार्यप्रति खेद प्रकट गदै दोषीलाई यथाशिघ्र पक्राउ गरि कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न स्थानीय प्रशासन एवम नेपाल सरकारसँग जोडदार माग गर्दछौ’ अध्यक्ष साहद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।त्यसैगरी जीतपुरसिमरा उपमहानगरपालिकाका प्रवक्ता भोजबहादुर खत्री (ईश्वर) ले पनि विज्ञप्ति निकालेर दोषीमाथि कडा कारवाहीको माग गर्नुभएको छ ।यसअघि नेपाल नगरपालिका संघ र निजगढ नगरपालिकाले विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरेका थिए ।नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले उपप्रमुखसहित परिवारमाथि भएको आक्रमणका दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका थिए । यसैगरी निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले पनि सोमवार विज्ञप्ति निकालेर उक्त घटनामा संलग्न व्यक्तिहरुमाथि कारबाही गर्न सरकारसंग माग गर्नुभएको थियो । यसअघि एमालेका नेता पुरुषोत्तम पौडलले पनि सामाजिक संंजालमार्फत घटनाको विरोध गर्दै देषिमाथि कारबाहीको माग गर्नुभएको थियो । उक्त समूहले कुटपिट गर्दा उपप्रमुख खातुन, उनका पति नेवाजी अंसारी र स्थानीय कन्हैया साह घाईते भएका थिए । घाईतेको गण्डकस्थित न्युरो अस्पतालमा उपचार भईरहेको छ ।