पुष्पराज खतिवडा
मनहर्वा,बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरामा अन्तर्राष्ट्रिय मन्जुदेवी दोस्रो भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ ।
यही भाद्र २९ देखि १ असोजसम्म संचालन हुने प्रतियोगितामा नेपाल र भारतका विभिन्न शहरका भेट्रान क्लब सहभागी हुने आयोजकले जनाएको छ ।
बुधबार सिमरामा सिमरा भेट्रान क्लबले पत्रकार सम्मेलन गरि प्रतियोगिता बारे जानकारी दिएको हो । भारतको दार्जिलिङ, कलकत्ता र सिक्किमको टोली सहभागी हुने क्लबका प्रतियोगिता संयोजक हरि चौधरीले जानकारी दिनुभयो ।
नेपालका चितवन, पर्सा, बारा, काठमाडौ, पोखरा, बुटवल, झापा, विराटनगर लगायतका भेटान टिमको प्रतियोगितामा सहभागिता रहने छ । देशी बिदेशी गरि १९ वटा टिमले खेल्ने चौधरीले जानकारी दिनुभयो ।
दैनिक ४ वटा टिमले खेल्ने प्रतियोगिताहरुमा अन्तर्राट्रिय भेट्रान प्रतियोगिताको नियम र मापदण्ड अनुसार एक टिममा गोलकिपर सहित ८ जना खेलाडीलाई सहभागी गराइने छ ।
प्रतियोगितामा पहिलो हुने टिमले १ लाख ५० हजार रुपैंया पुरस्कार प्राप्त गर्ने संयोजक चौधरीले जनाउनुभयो । प्रतियोगितामा दोस्रो हुनेले ७५ हजार रुपैंया र विभिन्न विधामा खेलाडीलाई पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ । प्रतियोगितामा प्रत्येक खेलमा एक जनालाई ३ हजारका दरले म्यान अफ दि म्याच र प्रतियोगिताको उत्कृष्ठ खेलाडीलाई ३ हजार ५ सय रुपैंया प्रदान गरिने उहाँले बताउनुभयो ।
बारा जिल्लाको खेलकुदको विकास र सिमराको पहिचान प्रवद्र्धन गर्ने उदेश्यले मधेस प्रदेशमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको भेट्रान प्रतियोगिता गर्न लागिएको सिमरा भेट्रान क्लबका अध्यक्ष विजय (राजकपुर) राउतले जानकारी दिनुभयो ।
सिमरा रंगशालामा हुने प्रतियोगितामा अनुमानित १० लाख ५० हजार रुपैंया खर्च हुने आयोजकले जनाएको छ ।
२०२० फागुन १६ मा जन्मिनु भएकी मन्जुदेवी गुप्ताको सामाजिक महिलाको रुपमा सक्रिय रहँदै गर्दा ४४ वर्षको उमेरमा २०६४ पौष २१ गे स्वर्गाहरण भएको थियो । उहाँकै स्मृतिमा स्थानीय युवाहरुको अगुवाइमा प्रतियोगिता आयोजना गर्न लागिएको भेट्रान सिमराका अध्यक्ष राउतले बताउनुभयो ।
सिमरा भेट्रानका अध्यक्ष राउतको अध्यक्षतामा आयोजित प्रत्रकार सम्मेलनमा स्वर्गीय मन्जुदेवीका कान्छा छोरा एवं युवा समाजसेवी श्यामबाबु गुप्ता, नेपाल पत्रकार महासंघ बारा अध्यक्ष रेशम तिवारी र क्लबका पदाधिकारीहरुको सहभागिता रहेको थियोे ।
सिमरामा २०७४ सालमा पहिलो भेट्रान कप सम्पन्न भएको थियो ।



















