वीरगञ्ज,वीरगञ्ज महानगरपालिकाले अत्यधिक गर्मीको कारणले बालबालिकाको स्वास्थ्यमा परेको प्रतिकूल असरलाई ध्यानमा राख्दै महानगरका सामुदायिक तथा संस्थागत विद्यालय दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।
महानगरपालिकाले असोज ८ र ९ गते सबै विद्यालयहरु बन्द गर्न निर्देशन दिएको हो ।महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले सोमवार एक सार्वजनिक सूचना जारी गर्दै अत्यधिक गर्मीका कारण विद्यार्थीहरू कक्षाकोठामा नै बेहोस हुन थालेपछि पठनपाठन स्थगित गर्नुपर्ने अवस्था आएको बताउनुभयो । जारी सूचनामा असोज ८ र ९ गते पर्सा जिल्लाका सबै विद्यालय बन्द रहने उल्लेख गरिएको छ ।
अत्यधिक गर्मीले विद्यार्थीहरूमा असर पर्न थालेपछि यहाँका अभिभावकहरूले सामाजिक सञ्जालमार्फत विद्यालय बन्द गर्न माग गर्दै आएका थिए ।पर्सा, बारा लगायतका मध्यतराईका जिल्लाहरूमा असोज महिनामा पनि गर्मी असह्य हुने गरी बढेको छ । यहाँको तापक्रम ३६ देखि ३८ डिग्री सेल्सियससम्म पुगेको छ । जसका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको छ ।यसैबीच पर्साको ग्रामीण भेगका विभिन्न विद्यालयहरूमा अत्यधिक गर्मीका कारण दर्जनौं विद्यार्थीहरू बेहोस भएका छन्।
जिल्लाको पोखरियास्थित जिल्ला उच्चांगल माविमा सोमवार मात्रै ८ जना छात्राहरु गर्मीका कारण बेहोस भएका थिए ।
यस्तै पटेर्वासुगौली गाउँपालिकाको वडा नम्बर २ का वडाध्यक्ष विजय गैरेका अनुसार श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रंगपुर टाडी, श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय निचुटा, र श्री जानकी राजेश पण्डित आधारभूत विद्यालय महुवनका थुप्रै विद्यार्थी अत्यधिक गर्मीले प्रभावित भएका छन्।वडाध्यक्ष गैरेले बताएअनुसार, अत्यधिक तापक्रमका कारण विद्यार्थीहरूले कक्षामा ध्यान दिन नसक्ने अवस्था सिर्जना भएको र कयौं विद्यार्थीहरू बेहोस भएका हुन्। गर्मीको असरले विद्यार्थीहरूको स्वास्थ्य जोखिममा परेको भन्दै स्थानीय जनप्रतिनिधि र विद्यालय प्रशासनले सम्बन्धित निकायलाई तत्काल पहल गर्न अपिल गरेका छन्।विद्यालय प्रशासनले विद्यार्थीहरूलाई ठण्डा र स्वस्थ वातावरण सुनिश्चित गर्न विभिन्न उपायहरू अपनाउनुपर्ने आवश्यकता रहेको औंल्याएका छन्।

















