महोत्तरी – मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले सुशासन र समृद्धिको आधार सूचनाको हकको प्रभावकारी कार्यान्वयन हुने स्पष्ट गर्नुभएको छ ।
बर्दिबासमा मन्त्रालयद्वारा १९औँ सूचना दिवसको अवसर पारेर आयोजित प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मन्त्री लेखीले संविधानले सूचनाको हकलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरिसकेको भन्दै यसको कार्यान्वयनमा राजनीतिक नेतृत्वदेखि राष्ट्र सेवक कर्मचारी र सुरक्षा निकायसम्म सबै गम्भीर बन्नुपर्ने बताउनुभयो ।
“सूचनाको हक जनतासँग जोडिने अधिकार मात्र नभई लोकतन्त्र र गणतन्त्रलाई बलियो बनाउने आधार हो,” मन्त्री लेखीले भन्नुभयो, “यसको प्रभावकारी कार्यान्वयनले सभ्य, पारदर्शी र जवाफदेही समाज निर्माण गर्न मद्दत पुर्याउँछ।”
उहाँले सूचनाको हकलाई जनस्तरमा फैलाउन सञ्चार माध्यमको ठूलो भूमिका रहेको उल्लेख गर्दै, जिम्मेवार पत्रकारिता र निरन्तर प्रचार–प्रसार आवश्यक रहेको पनि बताउनुभयो ।
कार्यक्रममा आम सञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष जितेन्द्र खड्गाले प्रदेश सरकारका निकायहरू अझ संवेदनशील र जबाफदेही हुनुपर्नेमा जोड दिनुभयो । त्यस्तै, मिडिया काउन्सिल मधेसका कार्यवाहक अध्यक्ष सुरेश यादव, सूचनाको हक अभियन्ता अजय साह र मन्त्रालयका उपसचिव ओमप्रकाश महतोले सूचनाको हक सम्बन्धी कानुन, कार्यान्वयनको अवस्था तथा अन्तर्राष्ट्रिय अभ्यासबारे कार्यपत्र प्रस्तुत गर्नुभयो ।
अन्तरक्रियामा सहभागीहरूले सुशासन, पारदर्शिता र जवाफदेहीताका लागि सूचनाको हकको कार्यान्वयनलाई सबै पक्षले प्राथमिकताका साथ लिनुपर्नेमा जोड दिनुभयो ।

















