कलैया,
बारा जिल्लामा मिटरब्याजीविरुद्ध बिहीवारसम्म ५२ वटा उजुरी परेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । सरकारले चर्को ब्याज लिनेविरुद्ध कारबाही गर्ने कार्यक्रम संचालन गरेपछि बारा जिल्लामा पनि पीडितहरुले उजुरी दर्ता गराएका हुन् ।
मिटरब्याज पीडितहरुले जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी दिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो । उहाँले उजुरी दिने क्रम जारी रहेकोले यो संख्या अझै बढ्ने अनुमान गर्नुभएको छ । मिटरब्याजीबाट दुःख पाएकाहरूका बारेमा अध्ययन गर्न सरकारले गृहमन्त्रालयका सहसचिव डा. भीष्मकुमार भुषाललाई संयोजक बनाएर कार्यदल नै गठन गरेर ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पीडितलाई निर्धक्क भएर उजुरी दिन आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा दर्ता हुन आएको उजुरीका सम्बन्धमा प्रजिअले सम्बन्धित पक्षलाई झिकाएर नियमसङ्गत लेनदेन भएको भए आपसी सहमतिमा उजुरी छिनोफानो गर्न निर्देशन दिइएको छ । सहमति हुन नसकेको खण्डमा उजुरीका सम्बन्धमा कानुनी प्रक्रिया सुरु गर्न प्रहरी कार्यालयमा पठाउन भनिएको छ ।
जिल्ला प्रशासन कार्यालयलाई दिइएको निर्देशनमा स्थानीय निकाय तथा जिल्ला प्रशासन कार्यालयको क्षेत्राधिकार नपर्ने उजुरीको सम्बन्धमा गृह मन्त्रालयलाई जानकारी गराउन निर्देशन दिइएको बताइएको छ ।
मिटरब्याजीको समेत आम्दानीको आर्थिक स्रोत, जायजेथा तथा सम्पत्तिको स्पष्टता र अनुसन्धान गरी ठूला कारोबारको सम्बन्धमा विशेष छानविन गर्न गृह मन्त्रालयबाट भनिएको छ ।



















