कलैया,जनप्रतिनिधिहरुबीच सहमति हुन नसक्दा बाराको प्रसौनी गाउँपालिकाले नयाँ आर्थिक वर्ष सुरु भइसक्दा पनि नीति तथा कार्यक्रम र बजेट पारित गर्न सकेको छैन ।

१० असारमा बोलाइएको गाउँसभा गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो । त्यसपछि दोश्रो बैठक २१ साउनका लागि बोलाइएको थियो । तर २१ जना कार्यपालिका सदस्य गाउँसभामा आएनन् । ३९ जना सदस्य रहेको गाउँसभामा ५१ प्रतिशत उपस्थित हुनु पर्छ । एमाले एकातिर र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी अर्कोतिर हुँदा गाउँसभा गर्न समस्या भइरहेको छ ।

गाउँसभामा आर्थिक वर्ष २०७९÷८० का लागि ४८ करोड ८६ लाखको बजेट, नीति तथा कार्यक्रम भने प्रस्तुत गरिएको छ । प्रसौनीस्थित गाउँपालिका कार्यालयमा उपाध्यक्ष किरण देवीले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, सामाजिक विकास लगायत क्षेत्रलाई समेटिएको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

प्रसौनी गाउँपालिका गाउँसभा सञ्चालन कार्यविधि २०७५ मा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले दुई महिनाभित्र पहिलो गाउँसभा बैठक बोलाउनुपर्ने व्यवस्था छ । त्यो गाउँसभामा तत्काल कायम रहेका सदस्य संख्याको ५० प्रतिशत भन्दा बढी सदस्य उपस्थित भएपछि मात्रै गणपुरक संख्या पुगेको मानिन्छ । गणपुरक संख्या नपुगेमा तीन दिन भित्र पुनः गाउँसभा बस्नेगरि सूचना गर्नुपर्ने हुन्छ ।

जनप्रतिनिधिहरुबीच कुरा नमिल्दा गाउँसभाको दोस्रो बैठक ढिलो गरी २१ साउनका लागि डाकिएको थियो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिलप्रसाद केशरीले गाउँसभा अधिवेशनमा १८ जना मात्रै उपस्थित भएकोले बजेट, नीति तथा कार्यक्रम पारित हुन नसकेको जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष विनोद कुमार जयसवालले गाउँसभा बैठकमा प्रवेश गरे पनि कोरम नपुगेका कारण बजेट नीति तथा कार्यक्रम पारित हुन नसकेको जानकारी दिनुभयो ।

अध्यक्षले आफ्नो अनुकूल गठन गर्न सक्ने ५ वटा समितहरु मध्ये ४ वटामा अन्य दलका वडा अध्यक्षलाई नेतृत्व गर्न दिएको, महानगर, उपमहानगरले दिएको बजेट सिलिङभन्दा बढी रकम वडाअध्यक्षहरुलाई दिँदा पनि उनीहरुले असहयोग गरेको अध्यक्ष जयसवालले बताउनुभयो । उहाँले समझदारीको लागि धेरै प्रयास गर्दा पनि सफल हुन नसकेको बताउनुभयो ।

Leave a Reply