तराई मधेसमा मात्रै होइन, अहिले देशभर डढेलोको प्रकोप छ । लामो खडेरीका कारण पनि जनजीवन यसै कष्टकर भइरहेको अवस्थामा डढेलोले झनै समस्या गरेको छ । नेपाली आकाश विश्वमा नै प्रदूषित हुदै जानुको कारण पनि यही नै हो । डढेलो आफै लाग्ने कुरा हुँदै होइन । मानिसले आफ्नो स्वार्थका लागि जथाभावी डढेलो लगाउने गर्दछ अनि पछि आफै आत्तिने गर्दछ । डढेलो लगाउन आवश्यक नभएको ठाउँमा र लगाउन नहुने ठाउँमा पनि मानिस बाठो भएर आफ्नो स्वार्थका लागि आगो लगाउने गर्दछ । मधेसमा त बाक्लो घर भएकाले पनि डढेलोका कारण मानवीय क्षति धेरै भएका छन् ।
त्यसो त पहाडी भेगमा पनि मानवीय क्षति भइरहेका छन् । भौतिक क्षति त सामान्य नै भयो । मुलतः डढेलो लगाउने विषयमा नै पहिला त आम नागरिकहरु नै सचेत हुनु पर्दछ । डढेलो लगाउने कार्य एकदमै घातक हो । यसको कुनै फाइदा छैन । गाउँघरमा फोहोर, झुस्यान-पराल सफा गर्दा आगो पनि लगाउने चलन छ । यस्तो अवस्थामा कदापि आगो लगाउन हुदैन । फोहारको उचित तरिकाले व्यवस्थापन गर्ने हो अनि जहाँ आगो लगाउनु पर्ने छ त्यो विज्ञहरुको सल्लाहमा मात्रै काम गर्नु पर्दछ तर यहाँ त मानिसले आफ्नो स्वार्थले जथाभाबी आगो लगाउने गरेका छन ।
त्यही भएर अहिले देशभरको अवस्था बिग्रएको छ । जलवायू परिवर्तनका कारण मौसम  पनि बिग्रिएको छ र लामो समय पानी पर्न सकेको छैन । सरकारले यस्तै कुराहरुको व्यवस्थापनका लागि वन कार्यालय स्थापना गरेको छ अनि स्थानीय सरकार पनि छन् । कसैले बेलैमा आगो लगाउन हुन्न भनेर चेतना फैलाएको देखिदैन अनि आगो लागिहाले पनि यो विषयमा ध्यान कसैले दिएको देखिदैन अनि कसरी आगलागी नियन्त्रणमा आउने अनि पीडितहरुले पनि राहत पाउने ?

Leave a Reply