नरेश गुप्ता

बरियारपुर,जिल्ला प्रशासन कार्यालय बाराका निमित्त प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईले उपभोक्तालाई ठगी गर्नेमाथि ६ लाख जरिवाना र ३ महिनादेखि ६ वर्षसम्म कैद सजाय हुने बताउनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराद्वारा आयोजना गरिएको उपभोक्ता अधिकार संरक्षण एवम अनुगमन बिषयक अन्तरक्रिया कार्यक्रममा शुक्रवार सहजीकरण गर्दै निमित्त प्रजिअ सेढाईले सो कुरा बताउनुभएको हो ।

नेपालको संविधान २०७२ को धारा ४४ मा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु वा सेवा प्राप्त गर्ने हक रहेको र गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति बेहोरेका व्यक्तिहरुको कानुन बमोजिम क्षतिपूर्ति पाउने हकको व्यवस्था पनि ऐनले गरेको उहाँले बताउनुभयो ।

उपभोक्ता अधिकार संरक्षण एवम अनुगमन कार्यक्रम बारा जिल्ला संयोजकसमेत रहनु भएका सेढाईले बाराका १६ वटै स्थानीय तहमा उपभोक्ता अधिकार संरक्षण ऐन लागू गर्न नवनिर्वाचित जनप्रतिनिधिहरुसंग आग्रह गर्नुभएको थियो ।

नेपाल सरकारबाट प्राप्त हुने सेवाहरु विधुत, खानेपानी, टेलीफोन, सूचना प्रविधि, स्वास्थ, शिक्षा तथा परामर्श, यतायात, ढल निकास, कानुनी, चिकित्सा, ईन्जिनियरिङ्ग लगायतको सेवा सुविधा समयमा पाएको नपाएको, गुणस्तर छ कि छैन लगायतको गुनासो संम्बधित नियमनकारी निकायलाई जानकारी गर्नुपर्ने पनि बताउनुभयो । बजारमा वस्तुको मूल्य, उत्पादकको नाम, उत्पादन मिति, उपभोग्य वस्तुको म्याद, खरिद गरेको बिललगायतको कुरामा उपभोक्ता स्वंम पनि चनाखो हुनु पर्नेमा जोड दिनुभएको थियो । बजारमा बिक्री वितरण भइरहेको खानेकुरा र मिठाईमा बिषादीयुक्त रंङ्ग र रसायनको प्रयोग गर्नेलाई कारबाहीको व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो । बजार अनुगमनको जिम्मेवारी संघीय सरकार, आपूर्ति, बाणिज्य मन्त्रालय र स्थानीय सरकारको रहेकोले नियमन र अनुगमन नियमित हुनुपर्ने उहाँले जानकारी दिनुभयो ।

अन्तरक्रिया कार्यक्रममा बारा जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, संचारकर्मी र उपभोक्ता हित संरक्षणको क्षेत्रमा काम गर्ने अगुवाहरुको सहभागिता रहेको थियो ।

Leave a Reply